उपभोक्ता ठगी गर्नेलाई कारबाही

राजधानी समाचारदाता / काठमाडौं

आपूर्तिमन्त्री शिवकुमार मण्डलले १० देखि २४ गुणासम्म बढी रकम लिएर उपभोक्ता ठगी गर्दै आएका दरबार मार्गका व्यापारीलाई कुनै पनि हालतमा कारबाही गरिने दाबी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको १२औं साधारणसभामा बोल्दै मन्त्री मण्डलले यस्तो बताएका हुन् । उनले ती व्यापारीले उपभोक्तालाई ठगी गर्ने र उल्टै अनुगमनमा खरिटएका अधिकारीलाई थर्काएकाले जुनसुकै हालतमा पनि कारबाही गरेरै छाड्ने बताए । गत १९ भदौमा दरबार मार्गका पसल अनुगमन गरिहेका बेला एक व्यापारीले मन्त्री मण्डललाई चुनौती दिँदै बजार अनुगमन गरे पनि सुधार गर्न नसक्ने दाबी गरेका थिए ।

मन्त्री मण्डलले सूचना पाएर नै दरबार मार्ग अनुगमनमा गएको र अनुगमनमा उपभोक्ता ठगिएको भेटिएकाले दोषीलाई कारबाही गरेरै छाड्ने दाबी गरे । ‘बहालवाला मन्त्री अनुगमन गर्न गएको छ,’ मन्त्री मण्डलले भने, ‘दरबार मार्गका व्यापारी मन्त्री आओस्, प्रधानमन्त्री आओस् केही हुनेवाला छैन भन्दै चेतावनी दिएर हिँड्ने, ।’ यसरी आपूले उपभोक्ता ठगी गर्ने र उल्टै बजार अनुगमन गर्न गएका अधिकारीलाई समेत चेतावनी दिँदै हिँड्ने व्यापारीलाई जुनसुकै हालतमा पनि कारबाही गरेरै छाड्ने जिकिर गरे ।

आयल निगमभित्रको विकृति र विसंगति तथा जग्गा खरिदमा भएको अनियमिततालाई कतैबाट पनि ढाकछोप गर्न सकि“दैन – मन्त्री मण्डल

कारबाहीका लागि आपूर्ति विभागलगायतका विभागको राय सुझाव लिइरहेको मन्त्री मण्डलले बताए । ‘यसरी ठगी गरेर उल्टै थकार्उने व्यापारीलाई त्यसै छोडिँदैन,’ मन्त्री मण्डलले थपे, ‘जुन जोगी आए पनि कानै चिरेका भन्ने भनाइ थियो व्यापारीको तर सबै मन्त्री घुस खाने हुँदैनन् । त्यस्ता व्यापारीलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ ।’

मन्त्री मण्डलले ठगी गर्ने एउटालाई उदाहरणीय कारबाही गरेर सबै व्यापारीलाई ट्र्याकमा ल्याउने बताए । उनले व्यापारीले ऐन नियमको कुनै ख्याल नै नगरिरहेकाले मुलुकमा ऐन नियम तथा सिस्टम भएको अनुभूति गराउने अभिव्यक्ति दिए । त्यसैगरी मन्त्री मण्डलले नेपाल आयल निगमभित्रको विकृति र विसंगति हटाउन र जग्गा खरिदमा भएको अनियमिततालाई कतैबाट पनि ढाकछोप गर्न नसकिनेदाबी गरे । उनले जग्गा खरिदको विषयमा अध्ययनले जे देखाएको छ, त्यसैको आधारमा मन्त्रालय कारबाही गर्न तयार रहेको दाबी गरे ।