दुई दिनमै ५० प्रतिशत टिकट बुकिङ

कमला अर्याल / काठमाडौं

दसैंका लागि अग्रिम टिकट बुकिङ ५० प्रतिशत सकिएको छ । टिकट बुकिङ सुरु भएको दोस्रो दिन बुधबार साँझसम्म आधाजसो टिकट बुकिङ भइसकेको यातायात व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले भने, ‘मंगलबार र बुधबार ५० प्रतिशत टिकट बुकिङ भएको छ ।’ दसैंको बेला २० लाख यात्रु बाहिरिने गरेको भए पनि फूलपातीसम्म १० लाख यात्रु बाहिरसक्ने उनले जानकारी दिए । बिहान ६ बजेदेखी बेलुका ५ बजेसम्म सर्वसाधारणले टिकट बुकिङ गर्न सक्ने उनले बताए ।

यातायात व्यसायीले भाडादर वृद्धि गर्ने अडान राखे पनि नयाँ भाडादर कायम नभएपछि डिलक्स गाडीका टिकट पनि प्रशस्त मात्रामा बुकिङ भएको महासंघले जनाएको छ । पुरानै भाडामा जान पाइने भए पनि सर्वसाधारणको आकर्षणका रूपमा डिलक्स गाडी रहेको महासंघको भनाइ छ ।

टिकट बुकिङ उत्साहजनक रहे पनि बाटोको समस्या भने उस्तै रहेको महासचिव सिटौलाले जानकारी दिए । बाटोघाटो सहज बनाउन सरकारसँग बारम्बार छलफल भए पनि खासै उपलब्धि हुन नसकेको उनले बताए । ‘आवतजावत गर्ने बाटो अझै राम्रो छैन, सरकारले वास्ता गरेन,’ सिटौलाले भने । उपत्यकाबाहिर जाने नाका कलंकीमा निकै जाम भएकाले त्यसको निरीक्षणमा लागेको पनि महासचिव सिटौलाले जानकारी दिए । मुग्लिन– नारायणगढ सडकखण्ड, थानकोटलगायतका स्थानको बाटो अस्थायी रूपमा भए पनि मर्मत गर्न सरकारलाई बारम्बार आग्रह गर्दा सरकार खासै जिम्मेवार नदेखिएको आरोप महासंघको छ ।

‘बाटोका कारण गाडी आएनन्, यात्रु घर जान पाएनन् भने हामी जिम्मेवार हुनेछैनौं,’ महासचिव सिटौलाले भने । बागलुङ, गोर्खा र ताप्लेजुङलगायतका स्थानमा बाटो अवरुद्ध भएको उनले बताए । यति हुँदासम्म सरकार रमिते बनेको उनले बताए ।

तर यातायात व्यवसायीले भने जस्तो बाटोघाटोको असुविधा भने नभएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. टोपराज पाण्डेका अनुसार सर्वसाधारण आवतजावत नै गर्न नसक्ने गरी बाटोघाटोमा समस्या छैन । सरकारको तर्फबाट हुने सहजीकरण भइरहेको प्रवक्ता पाण्डेले राजधानीलाई बताए ।

सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले उचित व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, ‘हामीले सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भनेर जाम हुने ठाउँमा विशेष ध्यान दिएका छौं ।’

सर्वसाधारणलाई यात्राका क्रममा अलपत्र हुन नदिन ट्राफिक महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालनमा ल्याएको खनालले जानकारी दिए । उनका अनुसार उपत्यकाको नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल तथा बल्खुलगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।