‘साना उद्योगको विकास अपरिहार्य’

राजधानी समाचारदाता / काठमाडांै

उद्योगमन्त्री सुनीलबहादुर थापाले लघु, घरेलु तथा साना उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमाडौंद्वारा आयोजना गरिएको उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा गोष्ठीको बुधबार उद्घाटन गर्दै मन्त्री थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग रहेको बताए । घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी गराउँदै उनले ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन घरेलु तथा साना उद्योग विकास समितिले ठूलो भूमिका खेलेको बताए । तिनदिने समीक्षा गोष्ठीबाट आएका सुझाव मन्त्रालयमा पेस गर्न समितिका उच्च अधिकारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने, ‘त्यसलाई मन्त्रालयले कार्यान्वयन गर्नेछ ।’

उद्योग सचिव शंकरप्रसाद कोइरालाले घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालित कार्यक्रमहरू निकै प्रभावकारी रहेको बताए । उनले संघीय संरचनामा कर्मचारी समायोजनको विषय उठान भइरहँदा समितिअन्तर्गतका कर्मचारीको पनि वृत्ति विकास र सेवाको ग्यारेन्टी मन्त्रालयले गर्ने प्रतिबद्धता ब्यक्त गरे । मुलुकभरका स्थानीय तहमा उद्योग विकास शाखा खोल्न मन्त्रालयले आवश्यक गृहकार्य गरेको चर्चा गर्दै सचिव कोइरालाले भने, ‘औद्योगिक विकासमा लघु, घरेलु तथा साना उद्योगको महŒव छ ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु तथा साना उद्योग विकास समितिद्वारा जिल्लामा सञ्चालित उद्योग प्रवद्र्धनात्मक कार्य निकै प्रभावकारी भएकाले यस समितिलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।