दिक्तेल बजार कालोपत्रे गर्ने कार्य सुरु

राजधानी संवाददाता  / खोटाङ

नमुना नगर निर्माणका लागि खोटाङको रूपाकोट–मझुवागढी नगरपालिकाले सदरमुकाम  दिक्तेल बजारको सडकलाई कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सहरी विकास मन्त्रालयको एकीकृत कार्ययोजना अनुसार दिक्तेल बजार कालोपत्रेका लागि परामर्शदाता कम्पनी ग्रिन थम्स कन्सल्ट्यान्टले काम थालिसकेको छ ।

खोटाङ सदरमुकाम दिक्तेल बजार । तस्बिर : राजधनी

सदरमुकाम दिक्तेलमा रहेको कच्ची सडक, जथाभावी टाँगिएको बिजुली र टेलिफानको तार, अव्यवस्थित ढल,  खानेपानीको पाइपलगायत संरचना व्यवस्थापनका लागि दिक्तेल बजारका सडकलाई पिच गर्ने लक्ष्यसाथ विस्तृत आयोजना प्रतिवेदन डीपीआरको काम सुरु गरिएको रूपाकोट–मझुवागढी नगरपालिका प्रमुद दीपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेलको किराँतचोकस्थित जिरोपोइन्टदेखि हाटडाँडास्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, त्रिवेणी चोकदेखि अल्छेढुंगा–अस्पताल रोड तथा टेलिकमको कार्यालयदेखि जिल्ला अस्पताल जोड्ने सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गरिने योजना रहेको छ । परामर्शदाता कम्पनीले नालासहितको सहरी सडक विस्तारका लागि रोड एन्ड ड्रेन सर्भे सुरु गरेको छ । सडक स्तरोन्नति एवं कालोपत्रेका क्रममा बजारभित्रका खानेपानीको पाइप, विद्युत् र टेलिफोनको तार व्यवस्थित गरेर अन्डरग्राउन्डेड गर्ने योजनासाथ डीपीआरको काम सुरु गरिएको परामर्शतादा कम्पनी ग्रिन थम्स कन्सल्ट्यान्टका इन्जिनियर आशुतोष परसैलाले बताए । डेढ वर्षभित्र सडक कालोपत्रेको काम गर्ने गरी सर्भे सुरु गरिएको सहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुरले जनाएको छ ।

नगरलाई आधुनिकीकरण गर्दै देशकै नमुना र गन्तव्य नगर बनाउने लक्ष्यसाथ स्थानीय विकास मन्त्रालयले ९० वटा सहरमध्ये रूपाकोट–मझुवागढी नगरपालिकाबाट दीर्घकालिन र अल्पकालीन आवधिक योजना निर्माण प्रक्रिया सुरु गरेको केही समयपछि दिक्तेल बजारका सडक कालोपत्रेका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम सुरु गरिएको हो ।

दिक्तेल बजारको सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७३÷०७४ मा स्थानीय विकास शुल्क कोषबाट आएको ८७ लाख ४३ हजारमध्ये ४५ लाख ४३ हजार रुपैयाँ रकम बजारका केही स्थानीयकै कारण फ्रिज भएको थियो । ५० प्रतिशत जनसहभागितामा सम्पन्न गर्नुपर्ने कालोपत्रे बजारकै केही घर उपभोक्ताको असहयोगका कारण असफल भएको थियो ।