विमानस्थल स्तरोन्नति गर्न जग्गा अधिग्रहण

दीपक ओली / धनगढी

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको छ । यो विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि १७ बिघा तीन कट्ठा ११ धुर जमिन अधिग्रहण गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरण धनगढीले जग्गा अधिग्रहण गरिएका जग्गाधनीलाई रकम प्रदान गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १० करोड पेस्की बजेट विनियोजन भएको जनाएको छ । विनियोजित रकम १÷२ दिनमै जग्गाधनीलाई हस्तान्तरण गरिने नागरिक उड्डयन प्राधिकरण धनगढी विमानस्थल प्रमुख छविसिंह ठकुुल्लाले बताए ।

उनले जग्गा अधिग्रहण तथा संरचनाको मुुआब्जाका लागि २५ करोड रुपैयाँ आवश्यक पर्ने बताए । जसमा पहिलो चरणमा ६ करोड जग्गाको मुुआब्ब्जा वितरणमा खर्च भइसकेको छ भने बाँकी रकम समेत छिट्टै विनियोजन हुने प्रमुुख ठकुुल्लाले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जग्गा अधिग्रहण एवं मुआब्जा वितरण समितिका संयोजक गोविन्द रिजालले अधिग्रहण गरिएको जग्गाका लागि आवश्यक पर्ने रकम २५ करोडमध्ये पहिलो चरणमा ६ करोड, त्यसपछि १० करोड रकम विनियोजन भइसकेको र बाँकी रकम पनि केही दिनमै विनियोजन हुने बताए ।

विमानस्थल विस्तारका लागि ७० जना स्थानीयको ८५ कित्ता जमिन अधिग्रहण गरिएको हो । यसमा २÷३ जना बाहेक अधिकांशको जग्गा धनगढी विमानस्थलका नाममा रजिस्ट्रेसन पास भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुुब्बा राममूर्ति सिंहले बताए । अधिग्रहण गरिएको जमिनलाई चार भागमा विभाजन गरी दररेट तोकिएको छ । जसमा पक्की सडकले छोएको जमिनलाई प्रतिकट्ठा १२ लाख, ग्राभेल बाटोले छोएको जमिनलाई प्रतिकट्ठा ७ लाख, कच्ची बाटोले छोएको जमिनलाई प्रतिकट्ठा ५ लाख र बाटोले नछोएको जमिनलाई प्रतिकट्ठा ३ लाख रुपैयाँ दररेट कायम गरिएको नायब सुुब्बा सिंहले बताए ।

अधिग्रहण गरिएको जमिनको सरकारी मूल्यमा १५ देखि २० प्रतिशत मात्रै मूल्य बढाउन पाइने नीति रहे पनि हाल धनगढी विमानस्थल विस्तारका लागि जमिन अधिग्रहण गर्न २ सय प्रतिशतसम्म मूल्य बढाइएको छ । विमानस्थल विस्तार कार्यक्रमअन्तर्गत यसपटक अधिग्रहण गरिएको जग्गा विमानस्थलको धावनमार्गदेखि पूर्वमा पर्ने घुुर्सुुवारोडदेखि खुुटिया रोडसम्मको बाटो गरी १७ बिघा तीन कट्ठा ११ धुर जमिन रहेको छ ।

दुई वर्षअघि यो विमानस्थलको स्तरोन्नतिका लागि ८ बिघा जमिन अधिग्रहण गरिएको थियो । यो बिमानस्थलको क्षेत्रफल अहिले ५३ बिघा छ भने धावनमार्गको लम्बाइ १ हजार ८ सय मिटर रहेको छ । विमानस्थल विस्तारसँगै स्तरोन्नति पनि गरिने प्रमुख ठकुल्लाले बताए । उनले भने, ‘यसअन्तर्गत रात्रिकालीन उडान र कम भिजिबिलिटीमा पनि विमान अवतरण गर्न सक्ने भीओआरडीएमई उपकरण जडान गरिने कार्यक्रम रहेको छ ’ ।