हावाहुरीले करोडौंको केरा नष्ट

श्यामशंकर पाण्डे / भैरहवा

हावाहुरीले भैरहवामा करोडौं रुपैयाँको केरा खेती नष्ट भएको छ । मंगलबार राति आएको हावाहुरीका कारण जिल्लाको मायादेवी गाउँपालिका वडा–६ मा लगाइएको करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । केरा खेतीबाट राम्रै आम्दानी देखेपछि रूपन्देही मायादेवी गाउँपालिकाका अवधराज यादवले १० बिघा जमिनमा २० हजार केराका बोट लगाएका थिए । नगदेवालीका रूपमा रहेको केरालाई आफ्नो मुख्य पेसा बनाएका यादवले हावाहुरीका कारण ठूलो नोक्सान बेहोरेका छन् । हावाहुरीसहितको वर्षाले उनी जस्तै रूपन्देहीको बेथरीमा रहेका १ सय बढी किसान पनि समस्यामा परेका छन् ।

हावाहुरीले लथालिंग भएको रूपन्देहीको बेथरीमा रहेको केरा बगान । तस्बिर : राजधानी

भारी वर्षासहित आएको हावाहुरीले केराका बोट बीचबाट भाँचिएका छन् । घरी र बोट यत्रतत्र छरिएका छन् । ‘केरा उत्पादन हुन लागेको अवस्थामा हावाहुरीले सबै नष्ट पारेका कारण बैंकबाट लिएको क्रण तिर्न पनि समस्या हुने भयो,’ यादवले भने । खेती नष्ट भएका कारण बंैकको ब्याज तिर्न र परिवार पाल्न गाह्रो उनकोभनाइ छ ।

बेथरी केरा खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । पछिल्ला वर्षमा यहाँका धेरैजसो कृषकले अन्य बाली छाडेर केरा खेती गर्दै आएका थिए । तर यसपटक भने हावाहुरीले सबै कृषकको केरा खेती पूर्ण रुपमा नष्ट भएको छ ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । जिल्लाको पकेट क्षेत्र मानिएको मायादेवी गाउँपालिकाको वडा–६ मा मात्रै करिब १ सय २५ बिघा क्षेत्रफलमा केरा खेती हुँदैआएको थियो । यहाँ उत्पादन हुने केरा जिल्लाका भैरहवा, बुटवल, लुम्बिनीसहित पाल्पा, नवलपरासी र कपिलवस्तुका बजारमा बिक्री गरिन्थ्यो । हावाहुरीकै कारण एउटै किसानलाई लाखौंको क्षति पुगेको छ । केही किसानले केराको बोटको बीमा गरे पनि अधिकांश किसानले बिमा गरेका छैनन् ।