प्रदेश २ मा शीर्षको शक्ति प्रदर्शन देउवा पुगे, ओली जाँदै, दाहाल तराईमै

राजधानी समाचारदाता / काठमाडौं

प्रदेश २ को स्थानीय तह निर्वाचनको मुखैमा प्रमुख दलका शीर्ष नेताहरूको दौडधुपले तीव्रता पाएको छ । सबै दलका शीर्ष नेता उपत्यका छाडेर प्रदेश २ को निर्वाचनमा केन्द्रित भएका छन् । ठूलासहित सबै दलका नेताहरू निर्वाचन हुने आठ जिल्लाका विभिन्न चुनावी कार्यक्रममा पार्टी प्रवेशदेखि लिएर आरोप–प्रत्यारोपसम्ममा उत्रिएका छन् ।

जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा, सर्लाहीमा एमाले वरिष्ठ नेता माधव नेपाल र लहानमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : राजधानी

प्रदेश २ लाई आधार स्थल बनाएका राष्ट्रिय जनता पार्टी नेपाल, लोकतान्त्रिक फोरम, संघीय फोरमसहितका मधेसकेन्द्रित दलले समेत शीर्ष नेतासहित सिंगो पार्टी शक्ति परिचालित गरेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतका शीर्ष नेता निर्वाचन चिह्न साइकलमा चढेर मतदाताका घरदैलो पुगेका छन् । निर्वाचनको मिति नजिकिएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ पुगेका छन् ।

देउवा मंगलबारबाटै प्रदेश २ का विभिन्न जिल्लाका चुनावी पुगेका प्रधानमन्त्री देउवा सोही दिनदेखि चुनावी कार्यक्रममा सक्रिय छन् । बुधबार उनले विभिन्न चुनावी सभालाई सम्बोधन गरेका छन् । ३० भदौमा मात्र राजधानी फर्कने कार्यक्रम रहेको देउवा सचिवालयले जनाएको छ । देउवासहित प्रदेश २ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरू चुनावी प्रचारमा खटिएका छन् ।

देउवाले आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मंगलबार र बुधबार सप्तरी, महोत्तरी तथा जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज (बिहीबार) सर्लाही, रौतहट, वीरगन्जका चुनावी सभालाई सम्बोधन गर्नेछन् । ३० गते पर्सा, बारामा चुनावी कार्यक्रममा सहभागी बनेपछि सोही दिन उनी काठमाडौं फर्कनेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रमका लागि ३० भदौमा प्रदेश २ जाने तयारीमा छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत नेता केही दिनयता प्रदेश २ मा खटिएका छन् ।

ओलीले महोत्तरीको बर्दिबासमा ३० गते हुने चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ । एमाले वरिष्ठ नेता माधव नेपाल रौतहट, महासचिव ईश्वर पोखरेल पर्सा, सचिवद्वय योगेश भट्टराई सिरहा र प्रदीप ज्ञवाली सप्तरीमा निर्वाचन प्रचार र चुनावी सभामा व्यस्त छन् ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ठूला चुनावी सभालाई भन्दा घरदैलो र वडास्तरीय कार्यक्रमलाई नै बढी प्राथमिकतामा राखिएको बताए । तथापि शीर्ष नेताले केही ठूला चुनावी सभामा भने सम्बोधन गर्नेतयारी भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई सातादेखि प्रदेश दुईमा खटिएका छन् । मंगलबार राजधानी आएका दाहाल पार्टीको कार्यक्रम सकेलगत्तै सोही दिन सिधै प्रदेश २ मा पुगेर सिरहामा साँझ चुनावी कार्यक्रममा सहभागी भए । राष्ट्रिय नाचघरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएलगत्तै उनी तराई झरेका हुन् ।

बुधबार दाहालले गोलबजारमा आयोजित सभालाई सम्बोधन गरे । उनले बुधबार नै शम्भुनाथ नगरपालिकास्थित खोक्सर परवाहामा गोविन्द चौधरीको सालिक अनावरण गरे । निर्वाचनका लागि माओवादी केन्द्रले सिंगो सचिवालयलाई प्रदेश दुईमा खटाएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेताहरू प्रदेश २ मा तीन सातादेखि लगातार खटिएका छन् ।

माओवादी केन्द्रले सिरहामा अध्यक्ष दाहाल, धनुषामा थापा, महोत्तरीमा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यस्तै, सचिवालय सदस्य उर्मिला अर्याल पर्सा, गोपाल ठाकुर बारामा खटाएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका गृहमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सहरी विकासमन्त्री प्रभु शाह, आपूर्तिमन्त्री शिव मण्डलसमेत चुनावी प्रचारमा प्रदेश २ मा केन्द्रित बन्दै आएका छन् ।

मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल, दल संघीय समाजवादी फोरमका सबै नेता–कार्यकर्तासमेत प्रदेश २ मा नै केन्द्रित छन् । राजपा र संघीय फोरमले भोट तान्न चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रदेश २ का निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउने भएकाले पनि सबै दलले प्रदेश दुईका निर्वाचनलाई महŒव दिएका हुन् । प्रमुख तीन दल र मधेसवादी दलले निर्वाचनमा पहिलो हुने दाबी छाडेका छैनन् ।