निधिसँग स्पष्टीकरण

काठमाडौं / रास– निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका विषयमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै अयोगले पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका निधिलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

आयोगले २५ भदौमा धनुषामा आयोजित चुनावी कार्यक्रममा नेता निधि आचारसंहिताविपरीत निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै स्पष्टीकरण माग गरेको बताएको छ । आयोगले निधिलाई आचारसंहिता उल्लंघन गरेबापत कानुनी कारबाही किन गर्नु नपर्ने हो ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु भनेको छ ।

यस्तै, सिरहाको जिरो माइलमा आयोजित कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको भन्दै आयोगले कांग्रेस सिरहा जिल्ला सभापतिसँग समेत स्पष्टीकरण मागेको छ । यसैगरी धनुषाको लालगढमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी ¥यालीमा बालबालिका प्रयोग भएको भन्दै दुवै पार्टीका जिल्ला प्रमुखलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।