६ महिनाभित्र पुनःस्थापना गर्न निर्देशन

काठमाडौं / रास– गृहमन्त्री जनार्दन शर्माले बाढीप्रभावित क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा आयोजित केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा ६ महिनामा बाढीप्रभावितलाई पुनःस्थापना गरिसक्न निर्देशन दिएका हुन् । ‘बाढीप्रभावित क्षेत्रमा सडकको लेबलसम्म उठाएर घर बनाउने गरी योजना निर्माण गर्न जरुरी छ’ मन्त्री शर्माले भने, ‘सात दिनभित्र बाढीप्रतिरोधी खुट्टा भएको घरको स्टमेट तयार गर्ने गरी कमिटी निर्माण गरेर काम सुरु गरौं ।’

बाढीका कारण विस्थापितहरूको रेकर्ड तयार गर्न निर्देशन दिँदै मन्त्री शर्माले अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री कमिटी बनाएर यसै वर्ष किन्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशनसमेत दिए ।