प्रधानमन्त्री कोषमा एक करोड

काठमाडौं / रास– दक्षिण कोरियाली कोरिया साउथ–इस्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख ५७ हजार ८ सय ७१ सहयोग  गरेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बुधबार परराष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाई वनले सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकरीलाई  हस्तान्तरण गरे ।

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इस्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेको प्रति धन्यवाद दिँदै कम्पनीले सुरु गरेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिएका थिए ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले २ सय १६ मेगावाटको अप्पर त्रिशूली–१ परियोजना भूकम्पका कारण केही समस्या भए पनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराएका थिए ।

उनले विद्युत् खरिद सम्झौता(पीपीए)लाई अघि बढाइदिन उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आग्रह गरे । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताएको महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।