भोलिदेखि परिचयपत्र

काठमाडौं / रास– निर्वाचन आयोगले २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि ३० भदौदेखि १ असोजसम्म फोटोसहितको मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

आयोगले प्रदेश २ का १ सय ३६ स्थानीय तहका मतदान केन्द्र र मतदानस्थलबाट तीन दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । प्रदेश २ मा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी हुन पाउनेछन् ।

परिचयपत्र लिन मतदाताले सरकारबाट जारी भएको कुनै पनि परिचय खुल्ने प्रमाणसँगै लैजानुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । परिचयपत्रवाहक मतदातालाई फोटोसहितको मतदाता परिचयपत्र आयोगबाट खटिएका कर्मचारीले तत्कालै दिनेछन् । यदि मतदाता आफैं परिचयपत्र लिन जान नसक्ने अवस्था आए एकाघरका अन्यले समेत स्थानीय राजनीतिक नेतृत्वको रोहबरमा परिचयपत्र लैजान सक्नेछन् ।

मतदाता शिक्षा पनि सँगै

आयोगले परिचयपत्र वितरणसँगै मतदाता शिक्षा कार्यकर्तामार्फत मतदान गर्ने सही तरिकासमेत सिकाउने जनाएको छ । सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रूपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था अघिल्ला चरणका निर्वाचनमा जस्तै परिचयपत्र वितरण गर्ने स्थलबाटै गर्न लागेको आयोगका प्रवक्ता ढकालले बताए । आयोगले मतदाता शिक्षका लागि भन्दै प्रदेश २ मा ३ हजार बढी मतदाता शिक्षा कार्यकर्ता खटाएको छ ।