प्रमुख निर्वाचन आयुक्तको चेतावनी , भोजभतेर गरेर तडकभडक गर्नेको उम्मेदवारी रद्द

राजधानी समाचारदाता / काठमाडौं

प्रमुख निर्वाचनआयुक्त अयोधिप्रसाद यादवले प्रदेश २ को निर्वाचनमा भोजभतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरूको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘चुनावमा उम्मेदवारहरूले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरूको उम्मेदवारी नै खारेजसम्म गरिदिन्छौं ।’

यद्यपि उनले मधेसमा अहिले सामाजिक–सांस्कृतिक पर्व चलिरहेकाले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धारणा राखे ।

उनले उम्मेदवारले अनावश्यक खर्च गरेको भए ती उम्मेदवारलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीसँग आग्रह गरे । यादवले भने, ‘तर अहिले सम्पन्नतातिर लम्कँदै छ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिस्पर्धा हुनु स्वभाविक हो ।’ निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको पूर्ण ध्यानाकर्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाइ राखे ।

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यत्ति नै हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारबाही तथा जरिवाना गर्न मिल्दैन, तर यसको मतलब यो होइन कि आयोग निरिह भने छैन ।’

आयोगको ध्यानाकर्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारसँग जवाफ पनि दिएको उनले जनाए । यादवले अघि भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि अहिले संक्रमणकालीन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता हो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढी विवाद गर्न चाहँदैन ।’

यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टीकरणसमेत मागिएको बताए । उनले भने, ‘राष्ट्रिय नेताहरूले स्पष्टीकरण दिनुभएको छ, उहाँहरूको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौं भनेर प्रतिबद्धता आएको छ ।’

यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे । उनले भने, ‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिनअघि मात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भए पनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसद्ले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ ।’

उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँग जोडेर हेर्न समेत आग्रह गरे । यादवले भने, ‘२० वर्षपछि निर्वाचन हुँदै छ, मतदाताहरू ज्यादै उत्साही छन्, उहाँहरूले होलीको पर्वजस्तो, रंग र अबिर लगाएर उत्साह मनाइरहनुभएको छ, आचारसंहिता पनि उल्लंघन भएका घटनाहरू आइरहेका छन्, तर हामीले कडाइका साथ नियमन गरिरहेका छौं ।’

उनले मतदाता परिचयपत्र लिएर मतदान गर्न मतदाताहरू उत्साहित भएको भन्दै उनीहरूलाई उत्साहित पार्ने काम पनि भइरहेको बताए । उनले मतदाता शिक्षाको काममा पनि आयोग लागिरहेको बताए । अधिकांश अधिकृतहरू निर्वाचन क्षेत्रमा पुगेको स्मरण गराउँदै यादवले भने, ‘२९, ३० र ३१ गते मतदाता परिचयपत्र लिन आउनेलाई उचित शिक्षा दिन हाम्रा साथीहरू लागिरहनुभएको छ ।’

यादवले निर्वाचनलाई जनताहरूले उत्साहका रूपमा लिएको उल्लेख गर्दै भने, ‘अहिलेसम्म कुनै अप्रिय घटना भएका छैनन्, अकल्पनीय कुरा पनि आएका छैनन्, हामी निर्वाचन सफल बनाउन लागिरहेका छौं ।’ निर्वाचन सफल बनाउनका लागि उनले सहयोगी हातहरूको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारसँग विशेष आग्रह गरे । उनले निर्वाचनको सम्पूर्ण तयारी भइरहेको समेत विश्वास दिलाए । यद्यपि उनले केही अघिसम्म बाढीका कारण मधेसमा भयभित अवस्था रहेको भए पनि अहिले त्यो अवस्था नरहेको स्पष्ट पारे ।