दशैलाई ध्यानमा राखी तेह्रथुममा सुरक्षा सतकर्ता बढाईयो

कृष्ण विदुखी गौतम
तेह्रथुम, १३ असोज

प्रहरी –प्रशासनले चाड–पर्वको समयमा हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि तेह्रथुममा सुरक्षा सतकर्ता बढाएकोे छ ।चाड–पर्वको समयमा सम्भावित आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले सुरक्षा गस्ति र पेट्रोलिङ्गलाई बाक्लो बनाएको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायका प्रमुखहरुलाई चाड–पर्वको समयमा सतर्कता अपनाउन निर्देशन दिएपछी प्रहरी– प्रशासनले सुरक्षा गस्ति र पेट्रोलिङ्ग बढाएको छ ।

चाड–पर्वको समयमा आपाराधिक घटना हुन नदिन जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए । दशैं– तिहारको समयमा अन्य समयभन्दा सुरक्षा गस्ति र पेट्रोलिङ्ग बाक्लो बनाउन , सवारी चेकजाँचलाई कडाई गर्न, तास– जुवा खेल्ने र खेलाउने कार्य नियन्त्रण गर्न तथा मदिरा सेवनगरी होहल्ला गर्ने कार्य नियन्त्रण गर्न जिल्लास्थित प्रहरी प्रमुखहरुलाई निर्देशन दिईसकिएको प्रजिअ खनालको भनाई छ । अन्य समयभन्दा सुरक्षा गस्ति र पेट्रोलिङ्ग बाक्लो बनाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजन भुजेलले बताए ।

चाड–पर्वको समयमा हुन सक्ने सम्भावित अपाराधिक घटना नियन्त्रणका लागि जिल्लाभरको मातहत प्रहरी युनिटले सुरक्षा गस्ति बाक्लो बनाएको छ । यात्रुहरुको धनजनको सुरक्षाका लागि राजमार्गमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलिले सवारी चेकजाँचलाई कडाई गरिरहेको छ । प्रहरीले अपाराधिक घटना हुने सम्भावित क्षेत्रहरुको पहिचान गरी सुरक्षा निगरानी समेत बढाएको छ । अपाराधिक घटना नियन्त्रणका लागि सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता शसस्त्र प्रहरी म्याङ्लुङ्ग गुल्म जिरिखिम्तिले पनि जिल्लामा सुरक्षा गस्ति र पेट्रोलिङ्गलाई बाक्लो बनाएको जनाएको छ । यसैबिच, जिरिखिम्ति प्रहरी चौकीले बेलुका ८ बजेदेखी उता होटल तथा रेष्टुरेन्ट बन्द गर्न ब्यवसायीहरुलाई आग्रह गरेको छ । चौकीले चाडपर्वको समयमा हुनसक्ने अपराधिक घटना नियन्त्रणमा सहयोग गर्न रातिको समयमा होटल तथा रेष्टुरेन्ट बन्द गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो ।