तेह्रथुममा गोरु काट्ने दुई जना पक्राउ, एक फरार

कृष्ण विदुखी गौतम
तेह्रथुम, १४ असोज

तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दांगपा वाट दशैंमा गोरु काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।गोरु काट्ने कार्यमा संलग्न अर्का एक जना भने फरार छन् । दांगपाको ढुंगेमा गोरु काटेर खाएको आरोपमा सोही स्थानका २८ वर्षिय पेमछिरी शेर्पा र छथर गाउँपालिका ६ सुदापका ४२ वर्षिय फुर्तुङ शेर्पालाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोईरालाले बताए ।

गोरु काट्ने मुख्य व्यक्ति २५ वर्षिय पासाङ शेर्पा भने फरार रहेको प्रहरीले जनाएको छ । पेमछिरी र फुर्तुङ सहयोगी रहेको र पासाङ भने गोरु काट्ने मुल्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । फरार पासङको खोजी भैरहेको प्रहरीले जनाएको छ । उनीहरुले फुलपातीको दिन ढुंगेको जंगलमा गोरु काटेर घरमा लगी खाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी ऐनको गौवध सम्वन्धि कसुरमा मुद्धा चलाईने प्रहरी निरीक्षक कोईरालाले बताए । मुलुकी ऐनको चौपाया सम्वधि महल ७ को ११ नम्वरमा गोरु काट्नेलाई १२ वर्ष र सहयोग गर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।