अप्रिय निर्णय नलिन सरकारलाई आयोगको सुझाव

राजधानी संवाददाता / काभ्रे

निर्वाचन आयोगले निर्वाचनको मुखमा कुनै अप्रिय निर्णय नलिन सरकारसँग आग्रह गरेको छ ।  आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारसँग निर्वाचनका विषयमा कुनै अप्रिय निर्णय नगर्न आग्रह गरेको हो ।

    

१० र २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मंगलबारबाट धुलिखेलमा सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’ सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले राजनीतिक अवस्था अप्ठेरो हुँदै गएको भन्दै सरकारसँग निर्वाचनलाई असहज हुने कुनै निर्णय नगर्न आग्रह गरे । ‘निर्वाचनको तयारीलाई आयोगले तीव्र बनाएको छ, अब अन्तिम अवस्थामा आएर यस सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग आयोग आग्रह गर्छ,’ प्रमुख आयुक्त यादवले भने ।

उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कानुन, नियम र निर्देशिकालाई अन्तिम रूप दिइसकिएको भन्दै निर्वाचनको अन्तिम अवस्थामा कहीँकतैबाट पनि कुनै किसिमको व्यवधान हुन नहुने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको उल्लेख गर्दै यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सुझावसमेत दिएका छन् ।

आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी  निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशनसमेत दिएका छन् ।

प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, ९ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ । प्रशिक्षण दुई दिनसम्म चल्नेछ । कार्यक्रममा मुख्य रजिस्टार नहकुल सुवेदी, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल लगायतको सहभागिता थियो ।