अनुदानको चामल बेच्दै खाद्य संस्थान

जन्म र मृत्यु संस्कार सम्पन्न गर्न सरकारले दिएको २० किलो अनुदान चामलबापत २४० असुल्छ खाद्य संस्थान

मिमसिंह नेपाली  / हुम्ला

सरकारले कर्णालीका पाँचवटै जिल्लाका  बासिन्दालाई जन्म र मृत्यु संस्कार सम्पन्न गर्न दिएको निःशुल्क चामल वितरण गर्दा खाद्य संस्थान हुम्लाले रकम असुल्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरेअनुुरूप हुम्लालगायत कर्णाली अञ्चलका पाँचवटै जिल्लामा नेपाल खाद्य संस्थानले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल दिँदै आएको छ ।

चामलको चरम अभाव हुँदासमेत जिल्लामा सहुलियतको चामल नदिएको विरोधमा मंगलबार थाल ठटाएर विरोध गर्दै हुम्लाको जिल्ला समन्वय समितिका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधि । तस्बिर : मिमसिंह नेपाली

तर हुम्लाको खाद्य संस्थानले भने अनुदानको उक्त २० किलो चामल दिएबापत २ सय ४० रुपैयाँ लिने गरेको छ । खाद्य संस्थान शाखा कार्यालय हुम्लाले अनुदानमा आएको भए पनि सोना मसिनो चामल वितरण गरेको भन्दै २० केजीको २ सय ४० रुपैयाँ असुल्ने गरेको सिमकोट गाउँपालिका–२ हिरालाल परियारले बताए ।

खाद्य संस्थानले भने सरकारले सोना चामल अनुदान दिन भने पनि आफूहरूले सोना मसिनो चामल वितरण गरेको र सो चामल महँगो भएकाले रकम लिने गरेको जनाएको छ । ‘सोना मसिनो चालम महँगो भएकाले अनुदानबापत पाउने २० केजीको २ सय ४० रुपैयाँ लिने गरेका छौं,’ खाद्य संस्थानका कार्यालय सहयोगी हर्कधन शाहीले भने ।

सरकारले कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामलसहित ढुवानी खर्चसमेत दिनेसम्बन्धी निदेर्शिकासमेत पारित गरेको छ । स्थानीय तहले जन्म र मृत्यु भएको प्रमाणित कागजात सिफारिस गरेमा डिपो कार्यालय रहेका स्थानीय तहभन्दा बाहिरका स्थानीय आएमा दुई दिनसम्मको प्रतिदिन पाँच रुपैयाँका दरले ढुवानीको खर्चसमेत दिने निर्णय भएको छ ।  तर निर्णयविपरीत संस्थानले भने उल्टै रकम असुल गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा भने यो विषयमा अनविज्ञ रहेको बताउँछन् । आफू भरखर सरुवा भएर आएको र सरकारी निर्णयबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख नारायणसिंह केसीले भने निःशुल्क वितरण भइरहेको दाबी गरे ।