उम्मेदवार छान्न संसदीय बोर्ड गठन

महेश्वर गौतम / काठमाडौं

नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति ‘बोर्ड’ गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस कार्य सम्पादन समिति बैठकले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा १७ सदस्यीय संसदीय समिति गठन गरेको हो ।

पार्टी विधानमा केन्द्रीय कार्यसमितिले संसदीय समिति गठन गर्ने व्यवस्था छ । विधानअनुसार समितिमा केन्द्रीय सभापति र महामन्त्री पदेन सभापति र महामन्त्री रहने व्यवस्था छ । त्यस्तै, समितिमा उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्री सदस्य रहने उल्लेख छ । संसदीय दलका नेतासमेत समितिमा सदस्य रहन्छन् ।समितिमा बढीमा आठ सदस्य चयन गर्न सक्ने व्यवस्था छ ।
तर, कांग्रेसले विधानमा भएको व्यवस्था मिच्दै तोकेभन्दा बढी सदस्य राखेर बोर्ड गठन गरेको छ । समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी रहेका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह सदस्य छन् ।
त्यस्तै, नेताहरू खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशशरण महत, बालकृष्ण खाँड, चित्रालेखा यादव र अर्जुननरसिंह केसी सदस्य छन् । जसमा देउवा पक्षका नौ, पौडेल पक्षका ६ र दुवै पक्षमा नरहेका दुई नेताको नाम परेको छ ।
आगामी मंसिरका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समितिले उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाउने बताइएको छ । बोर्डले केन्द्रीय समितिले गरेको निर्णयअनुसार २७ असोजसम्म उमेदवारका विषयमा टुंगो लगाइसक्नुपर्नेछ ।
उमेदवारका विषयमा जिल्ला जिल्लाबाट सिफारिस भएर आएका नाममा समितिले निर्णय लिनेछ । बढी आकांक्षी भएका र सहमति हुन नसकेका उमेदवारको नामका विषयमा समेत समितिले नै टुंगो लगाउनेछ ।

बन्दसूचीका लागि गृहकार्य

काठमाडौं / रास– कांग्रेस संसदीय बोर्डको पहिलो बैठकले समानुपातिकतर्फका उमेदवारको बन्दसूचीका लागि गृहकार्य थालेको छ । बोर्ड गठन भएलगत्तै बालुवाटारमा बुधबार बसेको समितिको बैठकले जिल्लाबाट सिफारिस भएर आएका समानुपातिकतर्फका उमेदवारको विषयमा छलफल थालेको हो ।

समितिका सदस्य अर्जुननरसिंह केसीले बोर्ड गठनपछि बसेको पहिलो बैठकमा समानुपातिकतर्फका उमेदवारहरूको बन्दसूचीका विषयमा छलफल भएको बताए । ‘पहिलो बैठकमा जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएर आएका नामका विषयमा छलफल गरेको छ, पहिले समानुपातिक प्रणालीतर्फको उमेदवारको विषयमा टुंगो लाग्छ, त्यसपछि प्रत्यक्षतर्फको विषयमा प्रवेश हुन्छ,’ नेता केसीले राजधानीसँग भने ।

बैठकले यही असोज २९ गते बुझाउनुपर्ने समानुपातिकतर्फका उम्मेदवारहरूको सूची तयार पार्न छलफल थालेको हो । बैठकमा केन्द्रीय समितिले गरेको निर्णयअनुसार नै अपवादबाहेक समानुपातिकमा पहिलेका उम्मेदवारहरूलाई नदोहो¥याउने, स्थानीय तहमा उम्मेदवारी दिएका र निर्वाचित भएका सबैलाई उम्मेदवार नबनाउने मापदण्डलाई आधार मानेरै अघि बढ्ने विषयमा छलफल भएको छ ।