पूर्वसहसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं / रास– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन पूर्वसहसचिव देवीप्रसाद बाराकोटीविरुद्ध प्रश्नपत्र छपाइ र छात्रवृत्ति वितरण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बाराकोटीले प्रश्नपत्र छपाइ र छात्रवृत्ति वितरणमा सरोकारवालासँग घुस लिएर २ करोड २ लाख ९० हजार ६ सय २ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचार गरेबापतको सो रकम र त्यति नै रकम थप जरिवाना असुल गरी कैद सजाय माग्दै बुधबार मुद्दा दायर गरेको हो ।

सार्वजनिक पदमा बहाल रहँदा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको रकम र जरिवानासमेत गरी ३ करोड २० लाख ७४ हजार १ सय ४९ रुपैयाँ असुल गर्न अख्तियारको माग छ ।

बाराकोटीले गैरकानुनी रूपमा आर्जन गरेका सम्पत्ति र श्रीमती प्रमिला उप्रेतीको नाममा बदनियतका साथ लुकाएर समेत राखेको देखिएकाले श्रीमतीलाई समेत प्रतिवादी बनाई अख्तियारले मुद्दा दायर गरेको हो ।