नेकपा संयुक्त माओवादी केन्द्रमा समाहित

राजधानी समाचारदाता / काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी संयुक्त नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । पुष्पकमल दाहाल नेतृत्वको केन्द्र र गणेश साह नेतृत्वको नेकपाबीच बुधबार एकीकरण भएको हो । दुवै दलका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘देशको क्रान्तिकारी परिवर्तन र लोकतान्त्रिक रूपान्तरणका लागि निरन्तर संघर्ष गर्दै अलग–अलग पृष्ठभूमिबाट आएका हामी राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बीच पार्टी एकता गर्न सहमत भएको’ उल्लेख छ ।

दुवै दलले एमालेलगायत वाम दलबीच गरेको चुनावी गठबन्धनलाई स्वागतसमेत गरेका छन् । ‘देशका सच्चा वामपन्थी, देशभक्त, कम्युनिस्ट क्रान्तिकारीको विशाल जनमत विभाजित हुँदा सधैं सामन्ती, दलाल र नोकरशाह वर्ग हावी हुने गरेको कुरा आत्मसात गर्दै देशका दुई ठूला राजनीतिक पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लगायतका पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमति, जनताको चाहना र नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो ऐतिहासिक कदम भएको ठहर गर्दै हामी त्यसको स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आगामी निर्वाचनलाई परिणाममुखी बनाउन महŒवपूर्ण सहयोग पुग्नेमा पनि हामी विश्वस्त छौं ।’

उनीहरूले राष्ट्रियता, राष्ट्रिय अखण्डता र देशको अग्रगामी विकासका लागि विभिन्न समूहमा रहेका प्रगतिशील, वामपन्थी, देशभक्त गणतान्त्रिक शक्तिलाई बृहत् ध्रुवीकरणमा सामेल हुन अपिलसमेत गरेका छन् ।

पार्टी एकता घोषणासभामा बोल्दै माओवादी केन्द्र अध्यक्ष दाहालले एमालेसहितका दलबीच एकीकरण अभियान सुरु भएको र त्यसले एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानलाई साथ दिने विश्वास पनि व्यक्त गरे ।

‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो,’ दाहालले भने, ‘हामी कम्युनिस्टको एकता र ध्रुवीकरणमार्फत नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पूरा गर्नैपर्छ ।’

मोहन वैद्य, मोहन विक्रम सिंहलगायतलाई व्यंग्य गर्दै दाहालले बदलिन नसकेको आरोपसमेत लगाए । ‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरिकाले सोचेन, एउटा नयाँ सोच र क्रमभंगका रूपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘कतिपय कम्युनिस्ट नेता र अग्रज मन्दिरमा घण्टी बजाएझैं एकैठाउँ बसिरहनुभएको छ, हामीले त्यसो गरेनौं ।’ निरन्तरतामा क्रमभंग गरेर मात्र क्रान्ति अघि बढ्ने उनको भनाइ छ ।

एकता कार्यक्रममा नेकपा संयुक्त अध्यक्ष साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिस्ट आन्दोलनमा नयाँ गति पैदा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सयजना नेता, कार्यकर्तासमेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एकता कार्यक्रममा नेकपा संयुक्त अध्यक्ष साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिस्ट आन्दोलनमा नयाँ गति पैदा हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सयजना नेता, कार्यकर्तासमेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।