‘वाम एकताको नाममा सत्ता कब्जा’

काभ्रे / रास– रक्षामन्त्री भीमसेनदास प्रधानले जनयुद्धबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले वाम एकताको नाममा देशमा साम्यवाद लाद्न खोजेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले धुलिखेलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा बोल्दै रक्षामन्त्री प्रधानले जनयुद्धबाट सत्ता कब्जा गर्ने रणनीनि फेल भएपछि देशमा साम्यवाद लाद्न अर्को प्रपञ्च सिर्जना गर्न खोजेको बताए । ‘जनयुद्धबाट सत्ता कब्जा गर्न नसकेर माओवादीले देशलाई साम्यवादतिर धकेल्न वाम एकताको भ्रम छर्न खोजेको छ, संसारमा कम्युनिस्टहरू ओरालो लागेको कुरा कम्युनिस्ट शक्तिहरूले बिर्सेका छन्, जनताले निर्वाचनमार्फत देशलाई जोगाउनुपर्छ,’ मन्त्री प्रधानले भने ।