रेणुको मत एमालेलाई चितवन जिससमा डल्लाकोटी

राजधानी संवाददाता / चितवन

जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन् ।

डल्लाकोटीले ११ र अधिकारीले तीन मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी भइन्  । नेपाली कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ११ मत प्राप्त गर्दा दाहालले तीन मत प्राप्त गरेकी थिइन् । जिससको नौ सदस्यीय समितिमा सबै नेकपा एमालेका रहेका छन् । समितिको सदस्यमा खिलाकुमारी सिम्खडा, लीलादेवी पोखरेल, सीता पुन, गुनु विक., कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरङ र चूडामणि महतो निर्वाचित भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा चितवनको सातवटा तहको प्रमुख, उपप्रमुख मध्ये नौ जना एमालेका तर्फबाट विजयी भएका थिए भने नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रका दुई जना विजयी भएका थिए । माओवादी केन्द्रका दुई जनाले जिससको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई मतदान गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट विजयी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले एमालेका उम्मेदवारहरूलाई मतदान गरेका हुन् । जिससमा माओवादीले उम्मेदवारी दिएको थिएन । निर्वाचित प्रमुख र उपप्रमुखलाई जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेले शपथ ग्रहण गराएका छन् भने अन्य सदस्यहरूलाई प्रमुख डल्लाकोटीले शपथग्रहण गराएका थिए ।