प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन , कांग्रेसबाट ८१, एमाले ६३, माओवादी केन्द्र २२ सिफारिस

राजधानी संवाददाता / सिन्धुपाल्चोक

पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलहरूले सबै तहका उम्मेदवारको नाम माथिल्लो कमिटीमा सिफारिस गरेर पठाएका छन् ।      प्रमुख पार्टीहरूको क्षेत्र र जिल्ला तहबाट सुझावका रूपमा आएका नामहरूमा केही संशोधनसहित प्रदेश र केन्द्रीय तहमा बुझाएका हुन् । नेपाली कांग्रेसले क्षेत्रबाट आएका नामहरू केही संशोधन गरेर केन्द्रीय कमिटीमा बुझाएको छ ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा मोहनबहादुर बस्नेतको एकल मात्रै नाम सिफारिस भए पनि जिल्ला समितिले सोनाम योञ्जनको समेत नाम राखेर केन्द्रीय समितिमा पठाएको नेपाली कांग्रेस जिल्ला समितिका प्रवक्ता अनुप न्यौपानेले जानकारी दिए ।

अन्य तहमा भने क्षेत्रीय कमिटीले नै सिफारिस गरेका नामहरू केन्द्रीय समितिमा बुझाएको न्यौपानेले बताए । कांग्रेसले स्थानीय तह निर्वाचनमा पराजित भएका नेताहरूको समेत नाम केन्द्रमा पठाएको छ भने इन्द्रावती गाउँपालिकाकी उपप्रमुख मीरा लामाको नामसमेत समानुपातिक सूचीमा कांग्रेसले राखेर पठाएको छ । कांग्रेसले क्षेत्र नम्बर २ बाट जिल्ला सभापति विकास लामा, तारानाथ दाहाल र आइतमान तामाङको नाम सिफारिस गरेर पठाएको छ ।

नेकपा एमालेले भने प्रदेश र क्षेत्रीय तहबाट आएका नामहरूमा व्यापक हेरफेर गरेर प्रदेश कमिटीमा पठाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ र २ बाट सरेश नेपालको मात्रै एकल नाम जिल्ला कमिटीमा पठाए पनि जिल्ला कमिटीको बैठकले नाममा हेरफेर गरेर प्रदेशसभामा पठाएको एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले जानकारी दिए ।

धेरै आकांक्षीका कारण सबैलाई समेट्नुपर्ने बाध्यता भएपछि नेपाली कांग्रेसले सबैभन्दा बढी नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ । कांग्रेसले प्रतिनिधिसभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ८१ जनाको नाम केन्द्रमा पठाएको छ । त्यस्तै, नेकपा एमालेले पनि लामै सूची प्रदेश कमिटीमा पठाउने तयारी गरेको छ  एमालेले सबै तहबाट ६१ जनाको नाम तयार पारेर प्रदेशसभामा बुझाउने तयारी गरेको छ ।

एमालेभित्र पनि आकांक्षी धेरै भएपछि त्यसलाई समेट्न जम्बो सूची प्रदेश कमिटीमा बुझाउने तयारीमा छ । प्रतिनिधिसभामा दुवै क्षेत्रमा एक÷एक जनाको नाम सिफारिस गरे पनि प्रदेशसभामा भने एकभन्दा बढीको नाम बुझाउने तयारी एमालेको छ ।

माओवादी केन्द्रको सूची कांग्रेस एमालेको तुलनामा केही कम छ । माओवादी केन्द्रले प्रतिनिधिसभा १ मा तीन जनाको नाम सिफारिस गरेको छ भने २ मा दावा तामाङको मात्रै नाम बुझाएको छ । प्रदेशसभा र प्रतिनिधिसभाका लागि एकमुष्ट समानुपातिकको नाम माओवादी मुख्यालयमा बुझाएको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

राप्रपा प्रजातान्त्रिकले पनि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाएको छ । राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशमशेर राणाको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको छ ।

अलमलमा साना दलहरू

प्रमुख दलहरूले आगामी निर्वाचनका लागि व्यापक तयारीका साथ उम्मेदवारहरूको नाम सिफारिस गरे पनि जिल्लामा अस्तित्वमा रहेका केही साना दलहरू भने अलमलमा परेका छन् । राप्रपा, नेकपा माले, जनमोर्चा, मजदुर किसान पार्टीलगायतका साना दलहरू भने अहिलेसम्म केन्द्रबाट केही निर्णय नआउँदा अलमलमा परेका हुन् । केही मधेसकेन्द्रित दलहरूको जिल्ला समिति भए पनि यो निर्वाचन केन्द्रित भएर यी दलहरूले खासै गतिविधि सुरु गरेका छैनन् ।