क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन , आगलागीमा परी हालसम्म १५ जनाको मृत्यु, १८० हराए

लस एन्जेलस / एजेन्सी–  अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तीव्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि ठूलो जनधनको क्षति भएको छ । गत आइतबार रातिदेखि लागेको भीषण डढेलोमा परी १५ जनाको मृत्यु भएको जनाइएको छ ।

आगलागीबाट अरू पनि कैयौं हराइरहेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेपछि झन् बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ । सो राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ ।

यसमा परी १५ जनाको मृत्यु भएको छ भने अरू करिब २५ हजारलाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सो राज्य सरकारले जनाएको छ । हजारौं स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफैं भाग्न सकेका थिए भने अरू कैयौंलाई प्रभावित क्षेत्रबाट उद्धार गरी अन्यत्रै सारिको छ । प्राप्त समाचारअनुसार करिब ५ हजार जनालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ । अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झ्यालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरू ध्वस्त बनाएको पाइएको छ ।

सो आगलागीमा परी कम्तीमा पनि २ हजार घर जलेका छन् । त्यसमा व्यापारिक भवन पनि रहेका छन् । अन्य भौतिक संरचनाहरू पनि जलेर खरानी भएको बताइएको छ । क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले क्यालिफोर्निया राज्यमा यो पहिलोपटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।

आइतबार रातिबाट अकस्मात् सो क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन । आगोको गति निकै तीव्र थियो । तीव्र हावाका कारण आगोका लप्काहरू पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुक्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ । अहिले पनि डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।

यसैबीच सो आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरूले दिएका छन् । पछिल्लो समाचारमा सो अगलागीमा परी अझै पनि १ सय ८० जना मानिस हराएका छन् । उनीहरूको खोजी कार्य पनि जारी रहेको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।