गौचन हत्यारालाई तत्काल कारबाही गर्न माग , व्यवसायी आन्दोलित, ठूला आयोजना ठप्प

राजधानी समाचारदाता / काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग पुनः माग गरेको छ । अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कारबाही गर्न दबाब आन्दोलन सुरु गरेको महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग पुनः माग गरेको हो ।

आफ्ना अध्यक्षको गोली हानी हत्या भएको ४८ घण्टा बित्दा समेत हत्यारालाई पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजारी भएको भन्दै महासंघका कार्यवहाक अध्यक्ष विष्णुभाइ श्रेष्ठले आक्रोश व्यक्त गरे । उनले घटनाका दोषी पक्राउ नपरेसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी पनि दिए ।

महासंघले अध्यक्ष गौचनको हत्यापछि पनि निर्माण व्यवसायीमाथि धम्की दिने काम नरोकिएको उल्लेख गर्दै निर्माण व्यवयायीको पूर्ण सुरक्षाको प्रत्याभूति दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघले हत्यारा पत्ता लगाई कडा कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघका कार्यवहाक अध्यक्ष श्रेष्ठले दोषी पत्ता नलगाए देशभरका निर्माण व्यवसायी आगामी दिनमा सम्पूर्ण मुलुक नै ठप्प पार्नेलगायतको चरणबद्ध कार्यक्रम गर्न बाध्य हुने चेतवानी पनि दिए । उनले सरकारले जुन तरिकारले हत्याराहरूको खोजी गर्छ,,त्यही तरिकाले व्यवसायीहरूले पनि आन्दोलनका स्वरूप परिवर्तन गर्ने बताए ।

सिंगो निर्माण व्यवसायीहरूका संरक्षक तथा अभिभावकको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै सरकारले जुन तरिकाले मादल बजाउँछ, आफूहरूले सोहीअनुसारको नाच प्रदर्शन गर्ने बताए । महासंघले अध्यक्ष गौचनको हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै गत मंगलबारदेखि नै ठूला आयोजना गल्छी सडक, रानी जमरा, सिक्टा, विराटनगर रानी सडक, मध्यपहाडी लोकमार्ग निर्माणको कामसमेत ठप्प पारिसकेको जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी व्यवसायी । तस्बिर : राजधानी

महासंघका पूर्वअध्यक्ष एवं संघर्ष समितिका संयोजक सुकुन्तलाल हीराचनले हत्यारालाई कानुनी दायरामा नल्याएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए । उनले गौचनलाई सरकारले तत्काल शहीद घोषणा गर्नुपर्ने र उनका हत्यारालाई कानुनी कठघरामा नउभ्याएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । हीराचनले महासंघ र परिवारका तर्फबाट गौचन हत्यारा पक्ता लगाउन जाहेरी दिएको ४८ घण्टा बितिसक्दा पनि अझै सरकारले दोषी पक्ता लगाउन नसकेको बताए ।

महासंघका महासचिव रामशरण देउजा र प्रवक्ता विष्णु बुढाथोकीले सरकारले आफ्नो कोणबाट काम गरिरहेकाले अहिले व्यवसायीले पनि त्यसलाई सकारात्मक रूपमा लिएको बताए । उनीहरूले छिट्टै सरकारले व्यवसायीको माग पूरा हुने अपेक्षा गरिएको बताए । बुधबार गृहमन्त्री जर्नादन शर्माले गौचनलाई सहित घोषणा गर्न आफूले सबै प्रक्रिया अघि बढाइसकेको जानकारी दिएअनुसार व्यवसायी केही लचिलो भई गौचनको शव बुझ्ने निर्णय गरिएको बताए ।

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अहिले सरकारको यो आश्वासनको भरमा व्यवसायीहरू चुप लागेर नबस्ने बताए । उनले व्यवसायीको आन्दोलन आगामी दिनमा आम निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति हुनुपर्छ भन्ने नै रहेको बताए ।

उनले सरकारको काम कारबाहीको आधारमा आन्दोलनका गतिविधि थप अघि बढ्ने बताए । उनले यो आन्दोलन प्रतिशोधको आधारमा नभएर सतहीमा पुगेर आगामी दिनमा यस्ता घट्ना नदोहोरिनका लागि नै भएको स्पष्ट पारे । लामिछानेले भने, ‘अहिले नेपाल निर्माणको मुख्य भूमिकामा रहेका व्यक्तिको हत्या भएको छ, विकासप्रेमी नेताको हत्या भएको छ । निजी क्षेत्रको हत्या भएको बुधबार तेस्रो दिन हो, यसलाई हामीले सिंगो अर्थतन्त्रको हत्या भएको तेस्रो दिनका रूपमा लिएका छौं, हामीले प्रहरी र सरकारसँग ठूलो आशा गरेका छौं । यस घटनाका दोषीलाई तत्काल कारबाही होस् ।’

पत्रकार सम्मेलनमा थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष कृष्णकुमारी शेरचन, थसेस काठमाडौं क्षेत्रीय अध्यक्ष खगेन्द्र भट्टचन र मृतक गौचनका काका ओमकार गौचनले अहिले सरकारले शहीद घोषणा गर्ने निर्णय गर्न लागेको जानकारी गराएअनुसार महासंघको मन्जुरीपछि परिवारले शव बुझ्ने निर्णय भएको बताए ।

उनीहरूले गृहमन्त्रीको बारम्बारको आन्दोलन फिर्ता गर्ने आग्रह र थसेस एवं परिवारको आग्रहबमोजिम महासंघ बुधबार गौचनको शव बुझ्न सहमत भएको बताए । महासंघका अध्यक्ष गौचनको गत सोमबार काठमाडौंको नयाँ बानेश्वस्थित खरिबोटमा गोली हानी हत्या गरिएको थियो ।

गौचन हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै थकाली सेवा समितिका केन्द्रीय र क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गरेर राजधानीमा दिनदहाडै एक स्थापित निर्माण व्यवसायी गौचनको गोली हानी हत्या भएको घटना पाशविक, निन्दनीय तथा आततायी भएको भन्दै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ । गौचनको हत्याले नेपालको समग्र शान्ति सुरक्षामा नै गम्भीर आँच आएको बताएको छ । यस घटनाले राजधानीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको पनि सो संस्थाले विज्ञप्ति उल्लेख छ । महासंघ पदाधिकारीहरूले बुधबार गृहमन्त्री जनार्दन शर्मालाई भेटी गौचनका हत्यारालाई पक्राउ गर्न सरकारले गरिरहेको काम कारबाहीबारे जानकारी लिएको बताए ।