पाकिस्तानी फुटबल संघ प्रतिबन्धित

कराँची  / एजेन्सी– विश्व फुटबलको नियमनकारी निकाय फिफाले पाकिस्तानी फुटबल संघमाथि राजनीतिक हस्तक्षेप भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफाले बुधबारदेखि लागू हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको जनाएको छ । फिफाले आफू र पाकिस्तान फुटबल संघबीच तेस्रो समूहको हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पार्दै निलम्बन फुकुवा नभएसम्म संघका पदाधिकारी र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने जनाएको छ ।

फिफाले विकास बजेट अन्तर्गत पाकिस्तानलाई पठाउँदै आएको विदेशी मुद्रा पनि रोक्का गरेको छ । फिफाले पाकिस्तानले राजनीतिक हस्तक्षेप नरहेको भन्ने सुनिश्चितता भएपछि मात्र पाकिस्तानको प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।