अर्जेन्टिना विश्वकपमा निर्णायक खेलमा मेसीको ह्याट्रिक

एजेन्सी / क्योटो

अन्ततः निर्णायक खेलमा लियोनेल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकप छनोटको आफ्नो संघर्षपूर्ण यात्राको सुखद अन्त गरेको छ । अन्तिम खेलसम्म विश्वकपमा आफ्नो स्थान छनोट हुने नहुने अनिश्चयबीच अर्जेन्टिना समूहमा तेस्रो स्थानमा रहँदै छनोट हुन सफल भयो ।

बुधबार बिहान दक्षिण अमेरिकी छनोटअन्तर्गत इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले ३–१ ले खेल आफ्नो पक्षमा पा¥यो भने अन्य टिमले पनि अर्जेन्टिना सापेक्षित नतिजा निकालेपछि अर्जेन्टिना रुस विश्वकपमा टिकट काट्न सक्षम भयो ।

मेसीको यो करिअरको ४४औं ह्याट्रिक हो । उनले बार्सिलोनाबाट ३९ ह्याट्रिक गरेका छन् भने अर्जेन्टिनाबाट ५ ह्याट्रिक पूरा गरेका छन् । बुधबार इक्वेडरलाई उसकै मैदानमा अर्जेन्टिनाले २००१ पछि पराजित गर्दै इक्वेडरको घरेलु मैदानमा रहँदै आएको आफ्नो खराब इतिहासको पनि अन्त ग¥यो ।

विश्वकप छनोटका लागि जित्नैपर्ने दबाबमा रहेको साविक विश्व उपविजेता अर्जेन्टिना र इक्वेडर बिचको खेलमा खेल सुरु भएको ४० सेकेन्डमै इक्वेडरले रोमारियो इबाराको गोलमार्फत खेलमा अग्रता लिएको थियो ।

तर मेसीले १२औं मिनेटमा खेल बराबरीमा ल्याएपछि अर्जेन्टिना खेलमा हावी भयो । उनले पहिलो गोल गरेको ८ मिनेट नबित्दै २०औं मिनेटमा टिमलाई अग्रता दिलाए । मेसीले ६२औं मिनेटमा आकर्षक ‘चिप’ गर्दै ह्याट्रिक पूरा गरे । बुधबारको नतिजासँगै दक्षिण अमेरिकन छनोट पूरा भएको छ । ब्राजिल ४१ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट हुँदा उरुग्वेले ३१ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकपमा स्थान सुरक्षित ग¥यो अर्जेन्टिनाले २८ अंकका साथमा तेस्रो स्थानमा रहेर विश्वकपमा स्थान बनाउँदा कोलम्बिया २७ अंकका साथमा चौथो स्थानमा रहेर छनोट भयो ।

चिलीका लागि खराब दिन

दक्षिण अमेरिकन च्याम्पियन चिली बुधबार भएका अन्तिम चरणका खेल अघिसम्म २६ अंकका साथ तेस्रो स्थानमा रहेर छनोटका लागि सेफ जोनमा रहेको थियो । तर जब बुधबारका सबै खेलको नतिजा आयो, त्यसपछि चिलीको विश्वकप सपना अधुरो रह्यो ।

बराबरीले विश्वकप यात्रामा पुग्न सक्ने अवस्थामा चिली शीर्ष स्थानको ब्राजिलसँग खराब खेलको सिकार भयो । उसलाई ब्राजिलले ३–० ले पराजित गर्दै विश्वकपबाट बाहिर पठायो ।

त्यस्तै पेरुले कोलम्बियासँग बराबरी खेलेपछि प्लेअफमा स्थान बनायो । चिली हारेपछि कोलम्बिया भने विश्वकपमा सोझै छनोट भयो । बुधबार बिहान भएका खेलमा पेरु र कोलम्बियाले १–१ गोलको बराबरी खेले भने ब्राजिलले चिलीलाई ३–० ले पराजित ग¥यो । त्यस्तै उरुग्वेले बोलिभियालाई ४–२ ले पाखा लगायो ।

अमेरिका छनोट हुन असफल

संयुक्त राज्य अमेरिका ३२ वर्षपछि विश्वकपमा छनोट हुन असफल भएको छ । अर्को वर्ष रसियामा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अमेरिका छनोट हुन असफल भएको हो ।

बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एन्ड टोबोकोसँग २–१ ले पराजित भएपछि अमेरिकाको विश्वकप सपना अधुरो रहेको हो । अमेरिकालाई स्तब्ध पार्ने क्रममा १७औं मिनेटमा ओमार गोन्जालेजको आत्मघाती गोलमार्पmत अग्रता लिएको ट्रिनिडाड एन्ड टोबोकोले ३७औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि अलभिन जोनेसले दोस्रो गोल गरेका थिए ।

योसँगै अमेरिका पहिलो हाफमै २–० ले पछि रह्यो । यद्यपि खेलमा फर्कने कोसिस गरेको अमेरिकाले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्यायो ।

ट्रिनिडाड एन्ड टोबोकोसँगको हारसँगै अमेरिका अंकतालिकाको पाँचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । उक्त समूहमा मेक्सीको, कोस्टारिका र पानामाले विश्वकपमा सिधै स्थान बनाए भने होन्डुरस प्लेअफका लागि छनोट भयो । उसले अस्टे«लियाविरुद्ध विश्वकप प्रवेशका लागि प्लेअफ खेल्नेछ ।