राष्ट्रिय सभामा कांग्रेस र वाम गठबन्धनबीच दूरी बढ्यो

काठमाडौं / रास– व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी  बढेको छ ।

राष्ट्रिय सभा गठनसम्बन्धी सहमति नजुटेपछि अब अध्यादेशको बाटोमा पुगेको छ । सरकारले यसअघि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनेगरी विधेयक संसद्मा दर्ता गरेको थियो । तर पछिल्लोपटक एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

प्रमुख तीन दलबीच बिहीबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभासम्बन्धी छलफल भए पनि सहमति जुट्न सकेन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए ।

एमालेले सरकार आफैंले बहुमतीय आधारमा गर्नुपर्छ भनेर संसद्मा विधेयक दर्ता गरिसकेको भन्दै वाम गठबन्धन बनेपछि आउने परिणामको अनुमानका आधारमा सरकारले बदमासी गरिरहेको आरोप लगाएको छ । ‘सरकार आफैंले पहिले बहुमतीय आधारमा हुने भनेर दर्ता गरेको छ, अहिले आएर फेरि आफैं एकल संक्रमणबाट भनेर विधेयक तलमाथि गर्न खोजिरहेको छ, यो कुनै हालतमा मान्य हुन्न,’ पूर्वकानुनमन्त्री तथा एमाले नेता अग्नि खरेलले भने ।

नेकपा माओवादी केन्द्रले पनि विधेयकमा जे पेस भएको हो, त्यही अघि बढाउन माग गरेको छ । ‘सरकारले मन्त्रिपरिषद् बैठकबाट पारित गरेको विधेयक अहिले आएर फेरबदल गर्नै मिल्दैन, कानुन व्यवसायीसमेत रहेका माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले राजधानीसँग भने, ‘यो असंवैधानिक काम हो, यसलाई मान्न सकिँदैन ।’ प्रमुख दलको बैठकमा राष्ट्रिय सभाका विषयमा सहमति नजुटेपछि तीन दका शीर्ष नेता आज (शुक्रबार) सँगै बसेर निकास दिने सहमति गरेका छन् ।