समयमै बाथरोगको उपचार गर्न आग्रह

राजधानी समाचारदाता / काठमाडौं

‘बाथरोगको उपचारमा ढिलो नगरौं, आजै सम्पर्क गरौं’ भन्ने सन्देशसहित विश्व बाथरोग दिवसको अवसरमा नर्भिक अस्पतालले बिहीबार प्रभातफेरीको आयोजना ग¥यो । हरेक वर्ष १२ अक्टोबरमा विश्वव्यापी रूपमा मनाइने सो दिवसको अवसरमा नर्भिक अस्पतालको बाथरोग विभागले बाथरोगबारे जनचेतनामूलक अस्पताल प्रांगणबाट प्रभातफेरी आयोजना गरेको हो ।

थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, बसन्तपुरबाट फर्केर हनुमानढोका, असन चोक, रत्नपार्क, भद्रकाली, माइतीघर मण्डला हुँदै नर्भिकको प्रांगणमा आएर प्रभातफेरी सम्पन्न भएको थियो । प्रभातफेरीमा बाथरोगीका साथै सर्वसाधारण, चिकित्सकसहित करिब १५० जना सहभागी रहेको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले बताएका छन् ।

नेपालीको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढीभन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको र पुरुषका तुलनामा महिला बढी पीडित हुने गरेको तथ्यांकले देखाएको छ । समयमै उपचार नभए यसले ज्यानसमेत लिनसक्ने चिकित्सक बताउँछन् ।

धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण शरीरका जोर्नीमा असर पु¥याउने र बढ्दो उमेरका कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने बताइन्छ ।

बाथरोग र अस्थिपञ्जरसम्बन्धी रोग झन्डै २ सयभन्दा बढी किसिमका रहेका र यो रोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने आदि हुने गर्दछ । केही अवस्थामा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–नीला डाम देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षण पनि देखा पर्ने चिकित्सक बताउँछन् ।