एनआरएनए नेतृत्वमा तीव्र प्रतिस्पर्धा

एनआरएनए नेतृत्वमा तीव्र प्रतिस्पर्धा

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा महाधिवेशन शनिबारदेखि राजधानीमा सुरु भएको छ । नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी जमुना घले र भवन भट्टबीच तीव्र प्रतिस्पर्धा रहेको छ । यसबारे राजधानीका लागि मधुजंग पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : 

 

मैले घलेकी पत्नी भएर नेतृत्व खोजेको होइन


जमुना गुरुङ
अध्यक्षका प्रत्यासी

संघको महाधिवेशनमा तपाईंको अध्यक्ष पदमा उम्मेदवारी किन अकस्मात् आयो ? कसैको दबाब हो या आफ्नै निर्णय ?

हो, अहिले मलाई जसरी पनि अध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने दबाब आयो । त्यसैले म चुनावी मैदानमा उत्रिएकी हुँ । सम्पूर्ण गैरआवासीय नेपालीको दबाब एकातिर आयो भने अर्कोतिर ती सानानानीहरूको निष्कलंक भावना एवं चाहनाअनुरूप नै अहिले मैले उम्मेदवारी घोषणा गरेकी हुँ । अहिलेको यस विवेकपूर्ण जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हो । तपाईंले भन्नुभएको अर्थमा दुवै आएको हो । तर अध्यक्षको उम्मेदवारीको तयारी थिएन । हामी तयारीमा थिएनौं । तर हामीले अन्तिम अवस्थामा आएर निर्णय गर्दा हामीलाई केही चुनौती बढेको अनुभव भएको छ । तर साथीहरूको प्रोत्साहन र सहयोगले मलाई ऊर्जा थपेको छ । त्यसैले अकस्मात् भनौं या हतारको जिम्मेवारी भनौं यसलाई तपाईंहरूले बुझ्ने कुरा हो ।

गैरआवासीय नेपाली संघ ७८ देशमा संठगित छ । यसमा तपाईंको उम्मेदवारी बिनातयारी आउँदा कस्तो महसुस गर्नुभएको छ त ?

काम गर्दा तयारीपूर्वक गर्ने हो । यो उम्मेदवारी हो । योजनाबद्ध हुँदैन । आवश्यकताले मेरो उम्मेदवारी हो एनआरएनएमा । आवश्यकता केका लागि भने लाप्राकबस्ती बसाउने योजना र भवन बनाउने योजना । यी दुई मुख्य हुन् । अन्यमा हाम्रो सहमति छ र गौण पनि हो । तर हाम्रो सहकार्य छ । यसमा पनि हाम्रो सहमति र सहकार्य छ तर जिम्मेवारीको कुरा हो । जिम्मेवारी लिनेदिने कुरामा सबैले आत्मसात् गरिदिएको भए यति ढिलो मैले उम्मेदवारी दिनुपर्ने आवश्यकता ठान्दैन थिएँ ।

तपाईंले जित्ने आधारहरू केके हुन् ? कुनै आकर्षक एजेन्डाहरू सार्वजनिक गर्नुभएको छ ?

यस संघलाई संस्थागत गर्ने मेरो मुख्य योजना हो । ५० लाख गैरआवासीय नेपालीको साखलाई बचाइराख्न, लाप्राक र एनआरएनए भवन बनाउने योजनालाई तीव्रता दिनु मेरो मुख्य आकर्षक भावी एजेन्डा हो । अहिले मैले बोलेको र भनेका सबै काम मेरै पालामा हुनेछ । एनआरएनएले निर्माण गरिरहेको मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउने संस्थाको मार्गदर्शक दृष्टिकोण भिजन २०२० एन्ड बियोन्डलाई सफल कार्यान्वयन गर्ने, महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रूपमा स्थापित गर्ने र खाडी मुलुकहरूमा कार्यरत महिला कामदारको हकहितमा केही योजना अघि सार्ने मेरा नयाँ योजना हुन् ।

बियोन्ड–२०२० लाई संस्थागत गर्न तपाईंले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ?

संसारभर छरिएर रहेका आम नेपाली दाजुभाइ र दिदी बहिनीका लागि बियोन्ड २०२० एउटा भिजन हो । अहिले एनआरएनएमा अध्यक्षका सल्लाहकार हुन्छन् । उनीहरूको कुनै भूमिका नै हुँदैन । अन्र्तराष्ट्रिय समन्वय परिषद्का साथीहरू सक्रिय भए पनि फलदायी काम भएको देखिँदैन । त्यसैले यो भिजनअन्तर्गत के हुन्छ भने प्रत्येक ३ महिनामा सल्लाहकारहरूले मिटिङ आयोजना गर्नेछन् । अध्यक्षलाई बाध्य बनाउँछ साथै अन्य कुराहरू पनि छन् यसमा । एनआरएनए फाउन्डेसन खोल्ने, अकस्मात् राहत कोष स्थापना गर्ने लगायत धेरै छन् ।

तपाईंलाई जनजाति र वर्तमान अध्यक्षको जिम्मेवारी धान्नैका लागि उम्मेदवारी दिएको भनिन्छ नि ?

यो वाहियात हो † म कसरी जनजातिको उम्मेदवार भएँ ? अध्यक्षसँग हरेकपटक हरेक कार्यक्रममा हातेमालो गर्दै हिँडेको छु । लाप्राकमा हामीले छुट्टाछुट्टै किसिमले ‘फन्डिङ’ गरेका छौं । त्यो मूल्यांकन अरूबाट पनि गर्न अनुरोध गर्दछु । परिवारका कुनै पनि सदस्य सक्षम हुनुहुन्न भन्ने जुन मानसिकता छ, त्यो संकीर्ण हो । मानिसहरूले सक्षम नेतृत्व र क्षमतामाथि प्रहार गर्न नसकेर उसको जात र पारिवारिक स्थितिप्रति उत्रनु आफैंमा दुःखद हो । मलाई यस्ता कुराले कुनै प्रभाव पार्दैन ।

यो उम्मेदवारीले परिवारवाद हावी भएको भन्न सकिँदैन र ?

मेरो दुई वर्षे कार्यकालमा यी सबै कुराको निराकरण हुन्छ । तपाईंहरू अब हेर्दै जानुहोला । कुनै पनि परिवारमा महिला सक्षम भयो भने त्यो परिवार सुनौलो परिवार हो । यो सबैले बुझ्नुपर्छ । महिला त घरभित्र चुलोचौको गरेर बस्ने जात हो भन्ने सोच हामीसँग अझै पनि छ । त्यो सोचबाट सबै मुक्त हुनुपर्छ । अर्को कुरा भन्नुपर्दा म आफैं शेष घलेजीको व्यापारिक साझेदारी हुँ ।

एनआरएनएले अहिलेसम्म धेरै लगानी भिœयाउन सकेन, यसको कारण के हो ?

सर्वप्रथम त के बुझ्नप¥यो भने हामी बिदेसिएका पहिलो पुस्ता हौं । हामी केवल दुई दशक मात्रै भएको छ बिदेसिइएको तर यहाँ लगानीको कुरा छ । दुई दशकबीचमा बिदेसिइएका नेपालीले कति लगानी गर्न सक्लान् । तपार्इं अनुमान गर्नुहोस् । तर पनि हामीद्वारा स्थापनाकालदेखि करिब ३० अर्ब लगानी देखियो । अदृश्य रूपमा ६० अर्ब जति लगानी भएको डाटा आइरहेको छ । तर यसो भन्दा पनि हामी सन्तुष्ट भने छैनौं । हामीले एउटा ट्र्याकमा गएर लगानीको वातावरण तयार गर्ने हो । त्यो गर्ने योजनामा हामी छौं । सरकारले लगानी नीति ल्याएको पनि धेरै भएको छैन । हामीले एमआईटी फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा लगानी र परोपकारी काम गर्दै आइरहेको सर्वविदितै छ ।

दोहोरो नागरिकताको विषय कसरी सम्बोधन गर्ने सोच बनाउनुभएको छ ?

पहिलो कुरा दोहोरा नागरिकताको विषय केही छैन र होइन पनि । हामीले मागेको नागरिकताको निरन्तरता मात्रै हो । सरकारले दिएको नागरिकताको निरन्तरता भनेको समान अधिकारसहितको नागरिकता हो । जुन हामीले प्राप्त गरेका छौं, त्यसैको निरन्तरता हो । किनकि बुझ्नुपर्ने कुरा के छ भने विभिन्न देशमा बस्ने हाम्रा साथीका समस्या अनेक छन् । एकै खालका छैनन् । अमेरिका बस्ने साथीहरूको समस्या नागरिकताको समस्या फरक छ भने मध्यपूर्व र खाडीमा बस्ने साथीहरूको समस्या नै छैन । त्यसैगरी युरोपमा बस्ने साथीहरूको समस्या नागरिकताको समस्या अर्कै खालको जो अस्ट्रेलियासँग मिल्दैन त्यसैले उपयुक्त आधार भनेको के हो भने नागरिकताको निरन्तरता हो जुन हामीले पहिल्यै पाइरहेका छौं । पाइरहनुपर्छ ।

मध्यपूर्व र मलेसियाको समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

विशेषगरी मेरो उम्मेदवारी तिनै विदेशमा बस्ने नेपालीहरूका लागि सहयोग पु¥याउने उद्देश्यले हो । किनकि पुरुषका त आफ्नै समस्या छन् । तिनीहरूको समस्या महिलाका तुलनामा गौण हो । मैले महिलाका समस्यालाई सम्बोधन गर्नुपर्छ । उनीहरूमाथि हुने घरेलु हिंसालाई सम्बोधन गर्नुपर्छ । कतिपय दिदी बहिनीहरू घरेलु हिंसाका सिकार बनेका छन् । उनीहरूको उद्दार तथा समस्या सम्बोधन गर्न एउटा टिम गठन गर्नेछु । सरकारसँग पहल गर्नेछु । श्रम बिमालाई सहज र सरलताका लागि छलफल चलाउनेछु । साथै यो बिमा बढाउने कुरामा बिमा कम्पनीसँग छलफल गर्नेछु ।

स्मार्ट एनआरएनए  बनाउने लक्ष्य छ

भवन भट्ट
अध्यक्षका प्रत्यासी

 

अहिले संघको नेतृत्वमा तपाईंको उम्मेदवारी किन ?

गैरआवासीय नेपाली संघको शाखलाई थप उचाइमा पु¥याउन अहिले मैलै उम्मेदवारी दिएको हुँ । यसअघि धेरैपटक संघमा बसेर काम गरेको अनुभवका आधारमा नै यो मेरो नेतृत्वको उम्मेदवारी हो । यो स्वाभाविक प्रक्रियामा यसपटक धेरै साथीको चाहना म नै अघि जानुपर्छ भन्ने रहेकाले नै हो भन्ने मेरो बुझाइ हो । संघमा अहिले पालोका आधारमा पनि अध्यक्षका लागि म नै अग्रपंक्तिमा पनि छु । विश्वभरिका साथीले सबैभन्दा स्वाभाविक उम्मेदवार तपाईं नै हो भनेपछि म अघि बढेको हो । उम्मेदवारी किन भन्दा यसमा संगठनात्मक र अरू काम गरी दुई तरिकाले हेर्नुपर्छ जस्तो लाग्छ । म एनसीसीबाट माथि उठेर यहाँ आइपुगेको व्यक्ति हुँ । त्यसैले म नेतृत्वमा आउँदा एनसीसी र आईसीसीबीच निकटता अझ बढ्नेछ । एनसीसीका समस्या मैले राम्रोसँग बुझेको छु । अहिलेको नेतृत्वले थालेका लाप्राक नमुना बस्ती, आफ्नै भवन निर्माण, शंखमूल पार्क निर्माणसहितका काम पूरा भएका छैनन् । तिनलाई सम्पन्न गर्दै गैरआवासीय नेपाली संघलाई गतिशील नेतृत्व दिन मेरो उम्मेदवारी हो । यस विषयमा म छिट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्नेछु ।

तपाईंले जित्ने आधार के हो त ?

सम्पूर्ण साथीभाइको माया, स्नेहबाट र मेरो काम गर्ने शैलीबाट नै हो भन्ने मैले ठानेको छु । यसमा मेरो सरल बुझाइ छ । अहिलेसम्म एनआरएनएमा मैले जति योगदान गरें, त्यो सबै साथीलाई जानकारी भएकै कुरा हो । संसारमा मलाई मन नपर्ने मान्छे छैन र मलाई मन नपर्ने खाना पनि छैन । एनआरएनएभित्र मेरो सबै पक्षसँग राम्रो छ । त्यही भएरै होला, सबै साथीले मलाई उम्मेदवार हुनुपर्छ भन्नुभयो । मैले सबैलाई राम्रो गरेको छु र संस्थामा पनि राम्रो गरेको छु । यो पृष्ठभूमिका कारण मलाई साथीहरूले सहयोग गर्नुहुन्छ । सबै साथीका लागि अध्यक्षको पपुलर उम्मेदवार म हुँ जस्तो लाग्छ ।

एनआरएनएको संरचनागत परिवर्तनका लागि वर्तमान अध्यक्षले ल्याएको भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड प्रस्तावमा एनआरएनए विभाजित देखिन्छ । यसमा तपाईंको धारणा के छ ?

संस्थाको नेतृत्वले भविष्य सम्झेर भिजन गर्नु राम्रो हो, संस्थाको गतिशीलताका लागि भिजन आउनुपर्छ । भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड प्रस्ताव आफैंमा विवादित होइन । त्यसभित्र भएका अन्तर्वस्तु र ल्याउने प्रक्रियालाई लिएर साथीहरूले विरोध जनाउनुभएको हो । एउटा गतिशील संस्थामा यो ठूलो कुरा होइन । प्रस्तावमाथि दफावार रूपमा छलफल भएर जाँदा सबै कुरा सुल्झिन्छन् जस्तो लाग्छ । फेरि यो कार्यान्वयनको प्रक्रियामा जाँदा फ्लोरले त्यसलाई पारित, अस्वीकृत वा फेरबदल गर्न सकिहाल्छ । यसलाई म सकेसम्म निरन्तरता दिएरै अघि बढ्नेछु ।

वैदेशिक रोजगारीको समस्या समाधान गर्नेतर्फ तपाईंको भावी योजना के छ त ?

वैदेशिक रोजगारीको दिगो समाधान खोजिनुपर्छ । निश्चय नै मैले आफू अध्यक्षको उम्मेदवार हुने भनेर सोचेदेखि नै वैदेशिक रोजगारीका समस्या पहिचान र तिनको दिगो रूपमा निराकरणबारे कार्ययोजना बनाइरहेको छु । निचोडमा भन्नुपर्दा के देखियो भने यसलाई रोकथाम र दिगो समाधानका लागि इन्स्योरेन्स नीति एउटा हुन सक्छ भन्ने देखियो । अहिले पनि सरकारले इन्स्योरेन्स गर्छ तर मैले भन्न खोजेको अलिक फरक कुरा हो । वैदेशिक रोजगारीमा जाने साथीहरू एनआरएनएसँग आबद्ध हुने र उहाँहरूको इन्स्योरेन्स बल्कमै गर्दिने । यसो भयो भने १ हजार रुपैयाँ तिर्नुपर्ने प्रिमियिमलाई एक डेढ सयमै आउँदो रहेछ । त्यसको जिम्मेवारी एनआरएनए सेक्रेटरिएटले लिएर कार्यान्वयन गर्ने भन्ने मेरो सोच हो । उहाँहरूलाई समस्या पर्नासाथ एनआरएनएमा निवेदन दिनुभयो भने उहाँहरूको इन्स्योरेन्स रकम प्राप्ति प्रक्रिया पनि हामी नै अघि बढाइदिन्छौं भन्ने हो ।

ओझेल परेका मध्यपूर्वका एजेन्डा मेरो प्राथमिकता


राजेन्द्रकुमार (आरके) शर्मा
एनआरएनए मध्यपूर्व संयोजकका उम्मेदवार

 

मध्यपूर्व संयोजकका लागि तपाईंको उम्मेदवारी किन ?

यस निर्वाचनमा विशेषगरी मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली कामदारको हकहित र अधिकार सुनिश्चितताका लागि मैले मध्यपूर्व संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ । गैरआवासीय नेपाली संघले गर्नुपर्ने विविध गतिविधिमध्ये मध्यपूर्व एकदमै संवेदनशील क्षेत्र हो । हाल त्यहाँका समस्यालाई संस्थागत रूपमा समाधान गर्नुपर्ने आवश्यकता छ । अनेक प्रयास गर्दा पनि स्वदेशमा भनेजस्तो काम र अवसर नदेखेर वैदेशिक रोजगारीका लागि मध्यपूर्वी क्षेत्र पुगेका धेरै नेपाली युवा कष्टकर र जोखिमपूर्ण काम गरेर जेनतेन आफ्नो घरका र मुलुकका लागि रेमिट्यान्स रकम पठाइरहेका छन् । हाल यहाँ नेपाली कामदारले भोग्दै आएका विविध समस्यासँगसँगै अहिले हरेक दिन ज्यान गुमाउने नेपाली दाजुभाइहरूको शव कफिनमा नेपाल फर्किने गरेको छ ।

अहिले मध्यपूर्वी क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्दै आएका समस्या के हुन् त ?

विशेषगरी सरकारले तोकेअनुसारको पारिश्रमिक नपाउने र पाए पनि समयमा नपाउने, स्वस्थ्यसम्बन्धी एवं त्यहाँको नियम कानुनसम्बन्धी ज्ञानको कमी, सडक दुर्घटना र कार्यस्थलमा हुने दुर्घटनाहरू नै मुख्य समस्याका रूपमा रहेका छन् । जीवनको महŒवपूर्ण समय अर्काको देशको तातो भूमिमा बिताउन बाध्य नेपाली कामदारहरू भोलि फर्किएर स्वदेश आइसकेपछि के गर्छन् त ? उनीहरूको सामाजिक सुरक्षा खोइ ? हामी व्यवसाय गर्नेहरूको पनि सामाजिक सुरक्षा छैन । अहिले त हामी बल भइन्जेल काम गर्छौं । पैसा पठाउँछौं नेपाल । भोलि आइसकेपछि अलिअलि भएको पैसा पनि सकिन्छ । कसरी बुढेसकालमा गुजारा गर्ने ?

कामदारले भोग्दै आएका समस्या समाधानका लागि के गर्नुपर्छ ?

अहिले यस क्षेत्रमा नेपालका लागि राजदूतावास स्थापना भए पनि अझै कुनै पनि राजदूतावासमा त्यहाँको कानुनी झमेलामा परेका नेपाली कामदारको उद्धार एवं सहायताका लागि कानुन अधिकृत नभएको अवस्था छ । अब हरेक राजदूतावासमा आफ्ना नागरिकले अनावश्यक भोग्दै आएका समस्या समाधानका लागि एक÷एक जना कानुन अधिकृत नियुक्त गर्ने व्यवस्था हुनुपर्छ ।

मध्यपूर्वी क्षेत्रमा तपाईंकै आवश्यकता किन त ?

म गैरआवसीय नेपाली संघमा रहेर पदभन्दा पनि कामलाई विशेष महŒव दिने व्यक्ति हुँ । त्यसैले अहिले आम मतदाताहरूले मलाई नै खोजिरहेका छन् । उनीहरू मेरो कार्यशैलीप्रति प्रभावित छन् भन्ने मेरो बुझाइ हो । धेरै लामो समयदेखि मध्यपूर्वका मुद्दा उठ्दै आएका छन् । त्यसलाई सम्बोधन गर्ने काम चुनौतीपूर्ण छ । एनआरएनएमा अझै मध्यपूर्वका एजेन्डा ओझेलमा छन् । अहिलेसम्म यहाँका नेपाली कामदारले भोग्दै आएका विविध समस्या देखेर पनि एनआरएनए त्यसमा छिर्न सकेको छैन ।