कुनै पनि व्यवसायमा असफलता बेहोर्नुपरेको छैन

कुनै पनि व्यवसायमा असफलता बेहोर्नुपरेको छैन

 

नेपालका चर्चित र सफल उद्योगी व्यवसायीमध्येका एक हुन् प्रदीपजंग पाण्डे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं लोमस फर्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक पाण्डे हाल औषधि, सिमेन्ट, क्लिंकर, बैंक, फाइनान्सलगायतका दर्जन बढी उद्योग व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । आफूले हात हालेपछि सफलता प्राप्त गरेरै छाड्ने पाण्डे कुनै पनि काममा दत्तचित्त भएर लाग्दा सफलता प्राप्त हुने बताउँछन् । पाण्डेसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्र, लगानीको वातावरण र श्रम सम्बन्धलगायतका विषयमा राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको सम्पादित अंश :

 

प्रदीपजंग पाण्डे

पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

महासंघ नेतृत्वपश्चात् हाल केमा व्यस्त रहनुभएको छ ?

म एउटा व्यवसायी हुँ । कुनै संस्थामा नेतृत्वमा हुँदा त्यहाँ हेर्ने हो । अन्य समयमा त आफ्नो व्यवसायमा ध्यान दिनुप¥यो नि । लोमस फर्मास्युटिकल्स कम्पनी ३३ वर्षमा हिँडिरहेको छ । यो मुलुककै पुरानो उद्योग हो । यसले आममानिसको स्वास्थ्यसँग सम्बन्ध राख्ने औषधि जस्तो महŒवपूर्ण र संवेदनशील वस्तु उत्पादन गर्ने हुनाले बढी यसैमा ध्यान दिनुपर्छ । विगतमा मैले तीन चार वर्ष यसमा त्यति राम्रोसँग ध्यान दिन सकेको थिइनँ । अहिले समय दिएर काम गरिरहेको छु । यसबाहेक अन्य उद्योग खोल्ने क्रममा पनि मेरो संलग्नता छ । आफ्नै पेसा व्यवसायमा समय खर्च भइरहेको छ ।

व्यवसायको व्यस्तताले सामाजिक क्षेत्रमा लाग्न छाड्नुभएको हो ?

आफूले गर्ने सामाजिक र अन्य कार्यहरूलाई मैले समय दिँदै आएको छु । यसका लागि मैले आवश्यक समय मिलाएको छु । बाँकी समय आफ्नो काममा दिएको हो ।

 एउटा व्यवसायीको हेराइमा यतिबेला मुलुकको अर्थतन्त्र कस्तो छ ?

हरेक क्षेत्रमा अहिले ह्रास हुँदै आइरहेको छ । राजनीतिक, सामाजिक, रीतिरिवाज र सांस्कृतिक सबै क्षेत्रमा क्रमिक रूपमा ह्रास आइरहेको छ । सेयर बजार र अन्य व्यापारिक क्षेत्रमा पनि यस्तै छ । यसले मुलुकको उत्पादकत्व घटेको छ । जसले गर्दा आर्थिक वृद्धिदरमा समेत प्रभाव पर्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय निकायले पनि यस वर्ष सरकारले लिएको लक्ष्यअनुसार वृद्धिदर हासिल नहुने प्रक्षेपण गरिसकेका छन् ।

 यस्तो अवस्था कसरी आयो ?

धेरैले राजनीतिलाई कारण मान्छन् । तर त्यो मात्र होइन । राजनीति र आर्थिक क्षेत्रको आआफ्नो बाटो छ । आर्थिक क्षेत्रको ८०÷८५ प्रतिशत निजी क्षेत्रले ओगटेको छ । अहिले निजी क्षेत्र पनि कमजोर हुँदै गएकले यस्तो भएको हो । हाम्रो उत्पादनको लागत बढेको छ ।

 नयाँ उद्योग धेरै खुल्न सकेका छैनन् । विदेशबाट सामान ल्याउँदा बाटोमा अनावश्यक रूपमा समय बढी लाग्छ । दिल्लीबाट सामान ल्याउँदा भैरहवामा १०÷१२ दिन रोकिन्छ । यसले व्यापार प्रवद्र्धनमा असर गर्दछ तर हामीले यस्ता समस्या समाधान गर्न सकेका छैनौं । यहाँ कुरा धेरै हुन्छ तर काम कम हुन्छ । यसले हर क्षेत्रमा अहिले ह्रास आइरहेको छ । बैंकको ब्याज बढेको छ । उद्योगको लगानी बढेको छ ।

नयाँ श्रम ऐन आएको छ । त्यसको कार्यान्वयनतर्फ ध्यान दिनुपर्छ । उत्पादन बढाउने, लागत घटाउने र लगानीको वातावरण कसरी बनाउने भन्ने तर्फ विचार पु¥याउनु खाँचो छ । लगानी गर्न मानिसहरू हिच्किचाउनुहुँदैन । यद्यपि अहिले एकाध उद्योग बढ्ने, रोजगारीमा सामन्य सुधार देखिने जस्ता कार्य नभएका होइनन् । तर त्यतिले पुग्दैन । त्यसका लागि केही गर्न सक्नुपर्छ ।

 यसमा निजी क्षेत्रको भूमिका कस्तो छ ?

मुलुकको उद्योग व्यवसाय क्षेत्रमा निजी क्षेत्रको सहभागिता ठूलो छ । आर्थिक क्षेत्रमा झन्डै ८० देखि ८५ प्रतिशत क्षेत्र निजी क्षेत्रले ओगट्छ । तर यति ठूलो सञ्जाल र सहभागिता भएर पनि जुन रूपमा उसले क्षमता देखाउनुपर्ने हो, त्यो भने देखाउन सकेको छैन ।  यसमा धेरै खालका समस्या छन् ।

 व्यवसायीको आफ्नै लडाइँले त होइन ?

यो आमनागरिकले महसुस गर्ने कुरा हो । म आफ्नो संस्थाबार यो कुरा धेरै गर्न चाहन्नँ । मैले सहयोग पनि पाएको छु । यसमा धेरै कुरा जोडिएका छन् ।

 महासंघले गर्नुपर्ने के हो ?

सरकारपछिको दोस्रो ठूलो नेटवर्क सञ्जाल भएको संस्थाको हो । यसले मुलुकको आर्थिक तथा सामाजिक विकासमा सहयोग पु¥याउन सक्छ । यसर्थ मुलुकको आर्थिक सबलीकरणका लागि महासंघले लिने नीति, उसले खेल्ने भूमिका, उसले गर्ने अनुसन्धान तथा कार्यक्रम आदिले धेरै प्रभाव पार्छ ।

 त्यसअनुसार काम गर्न सकेको छ त ?

यो मैले भन्ने होइन । बाहिरबाटै विश्लेषण गर्ने कुरा हो ।

उद्योग सञ्चालनमा बजार र पूर्वाधार समस्या
राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रका कार्यमा कमी
निजी क्षेत्र कमजोर हु“दै
आवश्यक विकल्पसहित हायर एन्ड फायर हुनुपर्छ

 सुधारका लागि के गर्नुपर्ला ?

साँच्ची भन्ने हो भने हामीले सबै क्षेत्रमा सतही कुरा मात्रै गर्दै आइरहेका छौं । हामी सधैं सम्भावना छ मात्र भन्छौं । धेरै साधान र स्रोत छ भन्छौं । तर खोइ त त्यसको सदुपयोग गरेको ?

यसर्थ बोलेर होइन, गरेर देखाउन सक्नुपर्छ । खोलामा पानी भएर घरमा बत्ती बल्छ र ? स्रोत छ भनेर चुप लागेर बस्ने होइन । विद्युत् निकाल्ने हो । पर्र्यटनको सम्भावना छ भन्ने मात्र होइन, धेरै पर्यटक ल्याएर घुमाउने हो । यी उदाहरण मात्र हुन् । जे सम्भावना छ, त्यसको भरपुर सदुपयोग तत्काल गर्न सक्नुपर्छ । कुरेर बस्ने र छ मात्रै भनेर हुँदैन । गरे के नहुँँदो रहेछ र ? कुलमानले लोडसेडिङ हटाएर देखाए । एक वर्षमा यो क्षेत्रमा धेरै परिवर्तन ल्याए । त्यसअघि किन भएन ? उनले चाहना गरे, भयो । जुनसुकै क्षेत्रमा पनि यस्तै हो । कहिले के चाहिन्छ, त्यो उपलब्ध गराउने । के सम्भावना छ, त्यसको उपयोग गने । कहाँ कसले के गर्नुपर्ने हो त्यही गरिहाल्ने जस्ता कार्य हामीले गर्नुपर्छ । यो मोडलमा हिँड्ने हो भने काम हुन्छ । छ÷छ मात्रै भन्ने तर केही नगर्ने हो भने सधैं यस्तै हो । आजको आजै र भोलिको भोलि नै गर्ने हो । काम गर्न कठिन छैन ।

 यहाँले आफ्नै पालामा श्रम ऐनको मस्यौदा कोर्न सुरु गर्नुभएको थियो । यसलाई कसरी हेर्नुभएको छ ?

मेरो पालामा मैले नै यसको मस्यौदा बनाएको हो । यसले सबैलाई वीन वीन अवस्थामा पु¥याएको छ । कर्मचारीले सुविधा पाउँछ । रोजगारदाताले आफ्नो आवश्यकता र चाहनाअनुसार कामदार चयन गर्न पाउने व्यवस्था त्यसमा छ । उद्योग र मजदुर दुवैको सम्मान गरेको छ । यसले मजदुरलाई पनि एउटा पार्टनरका रूपमा हेरेको छ । कसैलाई पनि अनावश्यक दबाब पर्ने बाध्यता हटाएको छ ।

आवश्यक विकल्पसहित हायर एन्ड फायरको व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारीलाई प्रतिबद्ध भएर कम गर्न प्रेरित गरेको छ । रोजगारदाताले आवश्यक परे निर्णय परिवर्तन गर्न सक्ने अवस्था आएको छ । यसले दुवै पक्षलाई फाइदा पु¥याएको छ ।

 बजारमा यति धेरै औषधि उद्योग छन् । किन लोमस फर्मास्युटिकल्स रोज्ने ?

हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उच्चस्तरीय र विश्वसनीय औषधि उत्पादन गर्दै आइरहेका छौं । ३३ वर्षदेखिको हाम्रो अनुभव छ । हामीले अत्यन्तै संवेदनशील औषधि उत्पादन गर्दै आइरहेका छौं । यस्ता कुरा निकै संवेदनशील हुन्छन् । यस्ता कुरामा बारम्बार आधुनिकता आवश्यक छ ।

एकपटक सिस्टम मिलाएपछि पनि चुप लागेर बस्न मिल्दैन । बारम्बार यसलाई परिमार्जन गरिरहनुपर्छ । यसरी काम गर्दा मात्रै आममानिसको मन जिल्न सक्ने हो । अहिले लोमसका धेरै औषधि नेपालमा प्रयोग भइरहेका छन् । नेपालबाहिर पनि केही औषधि निर्यात हुन्छ । यसले गर्दा नेपाली औषधिप्रतिको विश्वसनीयता बढ्दै गएको छ ।

 नेपाली उद्योगका औषधि कति प्रतिशत खपत हुन्छ ?

यो ट्याक्कै यति नै भन्न त कठिन हुन्छ । तैपनि हाम्रो अनुमानमा अहिले करिब ४५ प्रतिशत नेपाली औषधि यहीँ खपत हुन्छ ।

 औषधिमा नेपाल कहिलेसम्म आत्मनिर्भर होला ?

समय लाग्न सक्छ । किनकि औषधि धेरै थरीका हुन्छन् । कुनै न कुनै ल्याउन आवश्यक पर्छ ।

 तपाईंले पहिला उद्योग स्थापना गर्नुभयो । त्यसपछि बैंक र बिमातिर लाग्नुभयो । अहिले अरू क्षेत्रमा पनि लाग्नुभएको छ नि ?

 

सबै क्षेत्रको आआफ्नै महŒव छ । श्रम बढी प्रयोग हुने उद्योगमा विगतमा श्रम समस्या देखिया तर व्यवस्थापन पनि हुँदै गएको छ । यस्ता उद्योगमा पछिल्लो चरणमा ऊर्जाको समस्या अत्याधिक भयो । बजार र पूर्वाधारको पनि समस्या देखियो । यी समस्याका कारण लगानीकर्ता सेवा क्षेत्रतिर लागे । बैंकिङ र बिमा पनि एउटा हाउस हो । वित्तीय क्षेत्रमा पनि पहुँच हुनुपर्छ भनेर हामी त्यसतर्फ लागेका हौं । उद्योगमा समस्या धेरै देखर बैंक र बिमामा गएको होइन । मैले आईटीमा पनि लगानी गरेको छु । आईटीमा किन भनेर पनि प्रश्न उठ्ला ।

सम्भावना भएको क्षेत्रको पहिचान गर्नु सफल व्यवसायीको कर्तव्य पनि हो । यही कारण मैले लगानी विविधीकरण गरेको हुँ । तर मेरो मुख्य आधार भनेको उद्योग नै हो । पहिला सिमेन्ट उद्योग सञ्चालन गरें । त्यसपछि बैंक र बिमामा गएँ । फेरि विराटनगरमा अर्को सिमेन्ट उद्योग स्थापना गरें ।बैंक र बिमामा गएपछि फेरि फर्किएँ नि त । बजारमा अरूलाई पनि बाँच्ने आधार दिइराख्नुपर्छ भन्ने मेरो सोच हो ।सबै आफैंले क्याप्चर गरौं भन्ने सोच राख्नुहुँदैन । म पूर्वमा लगानी गरिरहेको छु, पश्चिममा गएको छैन । त्यहाँ अरूले लगानी गर्नुपर्छ ।

 थप नयाँ उद्योग स्थापना गर्दै हुनुहुन्छ ?

तत्कालका लागि नयाँ उद्योगको योजना छैन । उद्योग स्थापना गरेपछि हामीले यो उद्योग चलायौं भन्छौं, पहिले नै हल्ला गर्दैनौं ।

 तर अहिले उद्योग सञ्चालनअगावै लगानी घोषणा गर्न थालिएको छ नि ?

यो राम्रो कुरा हो । म लगानी गर्दै छु भनेर सकारात्मक संकेत दिनु राम्रो हो । यस्तो घोषणालाई पूर्ण कार्यान्वयनमा लैजानुपर्छ । घोषणा गर्नेहरूलाई म के आग्रह गर्न चाहन्छु भने आफ्नो घोषणाअनुसार परियोजनालाई कार्यान्वयनमा लैजानुहोस् । यसले बजारमा राम्रो सन्देश जान्छ र अरूलाई हौसला पनि मिल्छ । हामीले के सोच्नुप¥यो भने सकेसम्म बढी रोजगारी सिर्जना गरौं । सकेसम्म बढी राज्यलाई कर तिरौं । औद्योगिक वातावरण बनाऔं र सामाजिक संस्कार बदलौं । यो राम्रो हो ।