प्रभावकारी बन्दै स्वास्थ्य बिमा

राजधानी समाचारदाता / काठमाडौँ

सकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ । आमनेपालीमा स्वास्थ्यसम्बन्धी जनचेतना बढ्न थालेपछि स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको हो ।

राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ ले गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सोही कारण पनि स्वास्थ्य बिमा प्रभावकारी भएको स्वास्थ्य विभाग सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको भनाइ छ ।

समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले भने, ‘आममानिसमा स्वास्थ्यसम्बन्धी जनचेतना आएकाले स्वास्थ्य बिमा प्रभावकारी भएको हो ।’ प्रशासक पौडेलका अनुसार कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा अहिले २२ जिल्लामा पुगिसकेको छ । साथै, यसै आर्थिक वर्षभित्र स्वास्थ्य बिमा सेवा ३९ जिल्लामा पु¥याउने लक्ष्य रहेको पौडेलले राजधानीलाई जानकारी दिए ।

यो कार्यक्रम योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने अवधारणा हो । स्वास्थ्य बिमा कार्यक्रमको आबद्धताले आमनागरिकलाई बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्छ । समितिका अनुसार हालसम्म २ लाख ४८ हजार ६ सय ७० जनाले स्वास्य बिमा गराइसकेका छन् ।

स्वास्थ्य बिमा पुगेका जिल्लाहरूमा कैलाली, अछाम, बागलुङ, बैतडी, काठमाडौं, भक्तपुर, चितवन, गोरखा, जाजरकोट, इलाम, झापालगायत छन् । त्यसैगरी, जुम्ला कास्की, मकवानपुर म्याग्दी, पाल्पा, रुकुम, सिन्धुली, तनहुँलगायतका जिल्लामा पनि स्वास्थ्य बिमा पुगिसकेको छ । समितिका अनुसार सबैभन्दा बढी स्वास्थ्य बिमा पाल्पा जिल्लामा भएको छ । यस जिल्लामा २१ हजार ५ सय ७९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

यो कुल बिमाको २३ प्रतिशत हो । सबैभन्दा कम स्वास्थ्य बिमा काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा २ सय ७३ जनाले स्वास्थ्य बिमा गरेको तथ्यांकले देखाएको छ । यो कुल बिमाको शून्य दशमलव ३ प्रतिशत हो । त्यसैगरी, कास्की जिल्लामा पनि स्वास्थ्य बिमा प्रभावकारी रूपमा अगाडि बढेको तथ्यांकले देखाएको छ । कास्की जिल्ला २० हजार ९ सय ३९ जनाले स्वास्थ्य बिमा गरेको विभागको तथ्यांकले देखाएको छ । यस कार्यक्रमको सुरुवात गरेको कैलाली जिल्लामा ८ हजार ९ सय ५१ जनाले स्वास्थ्य बिमा गरेका छन् ।