कांग्रेस–राजपा तालमेल असफल

सुभाष साह / काठमाडौं

आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच निर्वाचन गठबन्धन र तालमेल प्रयास असफल भएको छ । संघीय समाजवादी फोरम नेपालसँग मिलेर मधेसवादी गठबन्धन निर्माण गरेको राजपा नेपालले अब लोकतान्त्रिक गठबन्धनका साथै एमाले र माओवादी केन्द्रको वामगठबन्धनसँग प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेको छ ।

मंगलबार नै मधेसवादी राजपा र फोरमको गठबन्धनले प्रदेश–२ मा सिट बाँडफाँट गरिसकेका छन् । कांग्रेससँग राजपाको वार्ता असफल भएपछि अब सो गठबन्धनले अन्य प्रदेशमा आवश्यकताअनुसार तालमेल गर्ने राजपा नेपालले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र कांग्रेसका बीचमा निर्वाचन क्षेत्रको विषयमा कुरा नमिलेपछि लोकतान्त्रिक गठबन्धनसमेत अन्योलमा परेको छ ।  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाबाहेकका स्थानमा गठबन्धन जारी राख्ने निर्णय गरे पनि मकवानपुर कांग्रेसले राप्रपा अध्यक्ष थापालाई मत नहाल्ने घोषणा गरिसकेको छ । बुधबार देउवा र थापाबीच गठबन्धन कायम राखेर अघि बढ्ने समझदारी भए पनि मधेसवादी दलको गठबन्धनमा रहेको राजपाले साथ नदिने बताएपछि बृहत् लोकतान्त्रिक गठबन्धन धरापमा परेको हो । तथापि, कांग्रेस नेताहरूले मनोनयनको दिन (बिहीबार) पनि गठबन्धन र तालमेल प्रयास जारी रहेन बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार कांग्रेस र राजपा नेपालका शीर्ष नेताबीच तालमेलका लागि छलफल भए पनि सहमति हुन नसक्दा दुवै पार्टी छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् ।

प्रदेश २ सहितका तराई–मधेसमा कांग्रेसले तालमेलको प्रयास गरेको थियो । तर, सिट बाँडफाँटमा सहमति हुन नसक्दा शीर्ष नेताको क्षेत्रमा तालमेल गर्न बैठक बसेको थियो । शीर्ष नेताको क्षेत्रमा तालमेल गर्न प्रधानमन्त्री निवासमा बैठक बसेको थियो । बैठकमा कांग्रेस नेता प्रदीप गिरीले धनुषाको ३ नम्बर क्षेत्र कांग्रेस नेता विमलेन्द्र निधिका लागि राजपाले छोडनुपर्ने प्रस्ताव गरेका थिए । धनुषा–३ राजपाले छोडेपछि कांग्रेसले धनुषा–४ मा उम्मेदवार नदिई राजपालाई सघाउने गिरीको प्रस्ताव थियो ।

धनुषा–३ मा कांग्रेस नेता निधिका साथै राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको दाबी रहेको छ । राजपाले सर्लाही–४ र धनुषा–३ मध्ये एक पाउनुपर्ने दाबी बैठकमा गरेको छ । तर, कांग्रेसले यी दुवै क्षेत्र छोड्न नसक्ने अडानमा छ । सर्लाही–४ मा कांग्रेस नेता डा. अमरेशकुमार सिंहले उम्मेदवारी दिने भएकाले यो क्षेत्र राजपालाई दिन नसक्ने कांग्रेसको अडान छ ।

सर्लाही–४ कांग्रेसले छोड्न नमानेपछि राजपा नेता महतो धनुषा–३ मा निधिसँग प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको राजपाका एक नेताले जनाएका छन् ।
बैठकमा कांग्रेस नेताको अडान सुनिरहेका राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश व्यक्त गर्दै कांग्रेसको प्रस्ताव अस्वीकार गरे । ठाकुरले धनुषा–३ र सर्लाही–४ मध्ये कांग्रेसले एउटा क्षेत्र पनि नछाड्ने भएपछि राजपाले आफ्नो उम्मेदवारी दिने भन्दै बैठकबाट निस्केका थिए । ‘कांग्रेसले जे भन्छ, त्यही गर्दै जानुपर्ने ? कांग्रेसले धनुषा–३ नछाड्ने, सर्लाही–४ पनि नछाड्ने भएपछि गठबन्धन कसरी हुन्छ ?’ बैठकमा ठाकुरले देउवासँग राखेको आक्रोश उद्धृत गर्दै राजपाका एक नेताले भने ।
राजपा नेता महतोले धनुषा–३ बाटै उम्मेदवारी दिन बिहीबार जनकपुरतर्फ जाने तयारी गरेको बताए । आफूले कुनै हालतमा पनि यो क्षेत्र छाड्न नसक्ने बताएका छन् ।