वाम गठबन्धन एमाले ७५, माओवादी ४६ उम्मेदवार तय

टेनिस रोका / काठमाडौं

वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी १० र २१ मंसिरमा हुने पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ ९६ र ६२ स्थानको सिट बाँडफाँट गर्दै उम्मेदवारको टुंगो लगाएका छन् । दुई दलले दोस्रो चरणको निर्वाचनका लागि सिट बाँडफाँट गरेसँगै बुधबार आ–आफ्नो पार्टी कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाएका हुन् । उनीहरूले अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाए पनि केही स्थानमा भने बाँकी छ । नेताहरूले बुधबार नै राति अबेरसम्म बसेर टुंगो लगाइसक्ने बताएका छन् ।

आगामी २१ मंसिरमा हुने ४२ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा हुन गइरहेको निर्वाचनमा एमालेले ७५ र नेकपा माओवादीले ४६ सिट लिएको माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए । दुई दलले राष्ट्रिय जनमोर्चा (राजमो) र स्वतन्त्रलाई सात सिट छुट्ट्याएका छन् । यसअघि ३५ जिल्लाका ३७ क्षेत्रमा हुने पहिलो चरणको निर्वाचनका लागि एमाले २१ र माओवादी केन्द्रले १६ सिट बाँडफाँट गरेका थिए ।

एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभाको सिट बाँडफाँटसमेत टुंग्याएका छन् । प्रदेशसभातर्फ दोस्रो चरणको निर्वाचनका लागि एमालेले १ सय ७५ र माओवादी केन्द्रले ९३ सिट लिएको छ । वाम गठबन्धन दलले राजमो र स्वतन्त्रलाई भने ६ सिट छुट्ट्याएका छन् । यसअघि एमालेले ४१ र माओवादी केन्द्रले ३३ सिट पाएका थिए । जसअन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचन गरेर एमालेले १ सय ९८ र माओवादीले १ सय २६ सिट पाएको छ ।

दुई दलले यसअघि ६०ः४० प्रतिशतमा रहने गरी चुनावी तालमेल गर्ने र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति गरेका थिए ।एमाले, राजपामा केही उम्मेदवार टुंगो लाग्न बाँकी नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपालले अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएका छन् । केही स्थानमा भने टुंगो लाग्न बाँकी रहेको र बुधबार रातिसम्म उम्मेदवार टुंगो लगाउने नेताहरूले बताएका छन् ।

एमाले स्थायी समितिको बुधबार बसेको बैठकले दोस्रो चरण निर्वाचनका लागि प्रदेश ४, ५, ६ र ७ मा उम्मेदवारी टुंगो लगाएको थियो ।प्रदेश १, २, ३ का उम्मेदवार टुंगो लगाउने प्रयास जारी रहेको स्थायी समिति सदस्य शंकर पोखरेलले बताए । बुधबार रातिसम्ममा बैठक जारी राख्दै उम्मेदवार टुंगो लगाइसक्ने उनको भनाइ छ । यता राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवार टुंगो लगाउन सकेको छैन । राजपा नेपालले उम्मेदवार टुंगो लगाउन बैठकमा छलफल गरिरहेको छ ।बुधबार रातिसम्ममा जसरी पनि उम्मेदवार टुंगो लगाइसक्ने राजपा नेपालका महासचिव मनीष सुमनले बताए ।  राजपा नेपालसँग मिलेर चुनावी तालमेल गरेको संघीय समाजवादी फोरम नेपालले मंगलबार नै उम्मेदवार टुंगो लगाइसकेको छ ।

माओवादीले टुंग्यायो उम्मेदवार

वाम गठबन्धन दलले सिट बाँडफाँट टुंग्याएसँगै नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको टुंगोसमेत लगाएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट उम्मेदवारी दिँदै छन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा–२, पार्टी प्रवक्ता पम्फा भुसाल ललितपुर–३, कृष्णबहादुर महरा दाङ–२, गिरिराजमणि पोखरेल महोत्तरी–१, वर्षमान पुन रोल्पा, टोपबहादुर रायमाझी अर्घाखाँची, जनार्दन शर्मा पश्चिम रुकुम, शक्ति बस्नेत जाजरकोट, मातृका यादव धनुषा–१, रामचन्द्र झा धनुषा–२, राम कार्की झापा–१, अग्नि सापकोटा सिन्धुपाल्चोक–१, हरिबोल गजुरेल सिन्धुली–२, अजयशंकर नायक सिरहा– ४, देवेन्द्र पौडेल बागलुङ– २, उर्मिला अर्याल पर्सा– ४, शिवकुमार मण्डल मोरङ– ५, टेकबहादुर बस्नेत सल्यान, प्रभु शाह रौतहट, लेखराज भट्ट कैलाली, सुरेश किराती उदयपुर–१ बाट उम्मेदवारी दिँदै छन् ।
माओवादीले काठमाडौंका १० क्षेत्रमध्ये चार स्थान पाएको छ । काठमाडौं–१ अनिल शर्मा, ६ मा झक्कुलाल सुवेदी, ८ मा उमेश स्थापित र १० मा हितमान शाक्यले उम्मेदवारी दिँदै छन् । शर्मा पूर्वगृहमन्त्री जनार्दन शर्माका नातेदार हुन् भन झक्कु सुवेदीले पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई हराएका थिए ।

निर्वाचनमा जो छुट्दै छन् माओवादी नेता

दोस्रो चरणको निर्वाचनका लागि आज हुने मनोनयनसँगै माओवादीका केही प्रभावशाली नेता छुट्ने देखिएको छ । पार्टी वरिष्ठ नेता रामबहादुर थापाले चितवन–२ बाट टिकट नपाएपछि उनी कहीँबाट पनि निर्वाचन नलड्नेमा पुगेका छन् । उनले चितवन–२ मा दाबी गरे पनि एमालेको भागमा परेपछि उनी टिकटकै लागि जहाँ पनि जाने र जहाँ पनि नलड्ने भन्दै कुनै स्थानबाट पनि निर्वाचन नलड्ने बताएका छन् । माओवादी नेता लीलामणि पोखरेल, अमिक शेरचन, विश्वनाथ शाह, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्लले टिकट पाएनन् । केही समयअघि मात्र पार्टी एकता गरेर आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष टंक राईसमेत यसपटकको निर्वाचनमा कहीँबाट पनि उठेका छैनन् । उनलाई खोटाङ माओवादी पार्टीले सिफारिस गरेको थियो ।