उपभोग्य वस्तुको मूल्य नियन्त्रणबाहिर

उपभोग्य वस्तुको मूल्य नियन्त्रणबाहिर

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको खाद्य मुद्रास्फीतिमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य गत वर्षको भन्दा घटेको देखिन्छ । तर, बजारमा भने खाद्यान्नको मूल्य निरन्तर बढ्दै गइरहेको छ । अझ फलफूल तथा तरकारीको मूल्य भने वृद्धि भएर छोइनसक्नु भएको छ । राष्ट्र बैंकले एउटा तथ्यांक देखाइरहने र बजारमा उपभोक्ताले अर्कै मूल्यमा खरिद गर्नुपर्ने अवस्था कसरी आएको छ । बजारमा वस्तुको मूल्य बढ्दो अवस्थामा रहे पनि राष्ट्र बैंकले कसरी घट्दो देखाइरहेको छ भन्ने विषयमा विज्ञहरू पनि एकमत छैनन् । सोही विषयमा राजधानीले गरेको कुराकानीको सम्पादित अंश : 

सबै वस्तुको मूल्य बढ्यो भन्न मिल्दैन

नारायण पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक

अहिले स्वाभाविक रूपमा तरकारीको मूल्य बढेको छ । त्यो उपभोक्ताका लागि पक्कै पनि राम्रो कुरा होइन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्था भदौको हो । त्यतिबेला दसैं आउन लागेकाले कर्मचारीले पनि दोब्बर पैसा पाउने भएकाले तरकारीको मूल्य बढेको हो ।
एउटा वस्तुको बढ्यो भनेर सबै वस्तुको मूल्य बढ्यो भन्न मिल्दैन । अहिलेको मूल्य वृद्धिलाई हेर्न कात्तिक महिनाको मूल्यको अवस्था हेर्नुपर्छ । कुनै बेला एउटा वस्तुको त कुनै बेला अर्काे वस्तुको मूल्य त बढिहाल्छ नि । बजारमा बेथिति बढ्दा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

समग्रमा बजार भाउ घटेकै छ

पवित्र बज्राचार्य, अध्यक्ष, नेपाल खुद्रा व्यापार संघ

हामीले बुझ्नुपर्ने चाहिँ के हो भन्दा राष्ट्र बैंकले जुन राष्ट्रिय मुद्रास्फीति देखाउँछ । यो मुद्रस्फीति देखाउँदा राष्ट्र बैंकले सबै वस्तुलाई एउटै बास्केटभित्र राखेर मुद्रास्फीतिको मूल्यांकन गर्छ । यसरी एउटै बास्केटमा राखेर मूल्यांकन गर्दा सस्तो भएका वस्तु पनि त्यसैभित्र पर्दछन् । महँगो भएका वस्तु पनि त्यसैभित्र पर्दछन् ।
त्यसैले हामीले कुनै वस्तु धेरै महँगो भएको देख्छौं । तुलनात्मक रूपमा कुनै वस्तु सस्तो पनि हुन सक्छ । औसतमा हेर्दा खेरि यसलाई खासै महँगो भएको भन्न सकिँदैन । समग्रमा औसतमा महँगो मात्रै देखिन्छ । अर्थात् हामीले सस्तोमा नै पाउने गर्छौं । यसरी हेर्दा राष्ट्र बैंकले मूल्य सस्तो भएको देखाउँछ । त्योभित्र लत्ता कपडा पनि होला, गाडी पनि होला, अन्य थुप्रै वस्तु पनि होलान् ।
यी सबै वस्तुको मूल्य थपघट गरेर सँगै राखेर हेर्दा औसतमा महँगो भएको वस्तु सस्तो भएको देखिन्छ । तर, अहिलेको राष्ट्र बैंकको तथ्यांक हेर्दा दाल, गेडागुडीहरूको समग्रमा खाद्यान्न हेर्ने हो भने मूल्य वृद्धि घटेको नै दखिन्छ । अहिले तरकारी महँगो भएको देखिन्छ । छुट्टाछुट्टै हेर्दा चाहिँ यसरी सस्तो महँगो थाहा हुन्छ । राष्ट्र बैंकको तथ्यांक हे¥यो भने सबै तकारी महँगो नभएको हनु सक्छ ।
जुन तरकारी अलि लामो समयसम्म राख्न सकिन्छ, त्यस्तो तरकारीको मूल्य महँगो भएको छैन । जुन तरकारी तुरुन्तै उपभोग गर्नुपर्ने हुन्छ, त्यस्तो तरकारीको चाहिँ भाउ बढेको देखिन्छ । अन्य चिनी, दाल, गेडागुडी त सबै सस्तो नै छ । गत वर्षको तुलनामा यी सबै दाल, गेडागुडीको मूल्य घटेर लगभग आधा नै भइसकेको छ । त्यस्तै चिनीको मूल्य हेर्ने हो भने गत वर्षको तुलनामा केही घटेको देखिन्छ । चिनीको मूल्य ९५ रुपैयाँ प्रतिकेजी थियो भने अहिले ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै खाद्यान्नमा चामलको मूल्य हेर्ने हो भने पनि बोरामा ५० रुपैयाँका दरले बढेको देखिन्छ । भारतबाट आउने लंग्रिन चामलको मात्रै मूल्य बढेको देखिन्छ । यसलाई यहाँ हामीले बास्मती चामल भनेर भन्ने गरेका छौं । अन्य मनसुनी चामलको मूल्यमा भने वृद्धि भएको छैन । यसरी समग्रमा हेर्ने हो भने सबै सामानको भाउ बढेको छैन, घटेकै छ ।

मूल्य नियन्त्रण गर्न विभाग लागिपरेकै छ

प्रेमप्रसाद आचार्य, सहप्रवक्ता, आपूर्ति मन्त्रालय

राष्ट्र बैंकले सबै किसिमका वस्तु एउटा बास्केटमा राखेर वस्तु मूल्यको मुल्यांकन गर्ने गर्छ । एउटै बास्केटभित्र सबै किसिमका वस्तु राख्दा त्योभित्र सबै वस्तु तरकारी, दाल, गेडागुडी, कपडालगायतका वस्तु राखेर वस्तु मूल्यको मुल्यांकन गरिन्छ । यस हिसाबले सबै वस्तुलाई एउटै बास्केटमा राखेर हेर्दा राष्ट्र बैंकको तथ्यांकले मूल्य वृद्धि घटेको देखिएको हो ।
राष्ट्र बैंकको तथ्यांकलाई नै हेरेर हामीले पनि मूल्य घटेको वा बढेको भनेर भन्ने हो । यद्यपि हाम्रो आपूर्ति मन्त्रालयका तर्फबाट यस विषयमा बजारमा गएरै यसको तथ्यांक संकलन गर्ने कार्य हुन सकेको छैन । खासमा भन्नु पर्दा बजारमा तरकारीको मूल्य अलिकति बढेको देखिन्छ । यसरी तरकारीलगायतका केही वस्तुको मूल्य बढ्नु उपभोक्ताको तर्फबाट हेर्दा खासै राम्रो भन्न सकिँदैन । यस विषयमा शुक्रबार आपूर्ति मन्त्रालयमा बैठकसमेत भएको थियो । बजार अनुगमनलाई कसरी प्रभावकारी बनाउने, बजारमा भएको मनोमानी मूल्य वृद्धि कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हिजो मात्रै आपूर्ति व्यवस्थापन विभागका अधिकारीसहित उपभोक्ताकर्मीहरूको सहभागितामा आपूर्ति मन्त्रालयमा बैठक बसेको थियो । त्यस्तै आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमन पनि दैनिक रूपमा नियमित गरिहेकै छ । यद्यपि बजारमा माग र आपूर्तिको आधारमा मूल्य वृद्धि हुने गर्छ । त्यस्तो भएको अवस्थामा बजार अनुगमनले समेत बजार मूल्य नियन्त्रण कसरी गर्ने भन्ने हँुदैन । त्यसबाहेक व्यवसायीहरूले मनोमानी रूपमा मूल्य वृद्धि गरिरहेको अवस्थामा बजार अनुगमनबाट मूल्य नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि विभागले बजार अनुगमन गरिरहेकै छ । समग्रमा भन्नु पर्दा आपूर्ति विभाग लागिपरेकै छ ।

तरकारी खरिद गर्नै गाह्रो

सीता ढकाल, उपभोक्ता

बजारमा हरेक सामानको मूल्य यति धेरै बढेको छ कि अब एक छाक खान पनि गाह्रो हुन लाग्यो । दैनिक उपभोग्य वस्तुमा अहिले तरकारीको भाउ सबैभन्दा चर्काे छ । २० देखि ३० रुपैयाँ पर्ने भान्टाको मूल्य १ सय रुपैयाँ पुगेको छ । बजारमा १ सय रुपैयाँ भन्दा कम कुनै तरकारीको मूल्य छैन ।
मूल्य वृद्धिका कारण काठमाडौंका सर्वसाधारण तथा विद्यार्थीहरू काठमाडौं छोडेर घरतिर जानुपर्ने अवस्था आउन थालिसक्यो । मलाई पनि कहिलेकाहीँ त काठमाडौं छोडेर घर जाऊँजाऊँ जस्तो हुन्छ । यस्तो स्थितिमा हामी कसरी बाँच्ने ? व्यापारीहरूले पसलैपिच्छे छुट्टाछुट्टै मूल्य तोक्छन् ।
सर्वसाधारणलाई मूल्य वृद्धिले ढाड भाचिएला जस्तै भएको छ । यसको रोकथाम कसले गर्ने ? मूल्य वृद्धि यसरी आकासिँदा पनि सरकारले कुनै वास्ता गरेको देखिँदैन । बजारमा मनपरी गर्ने व्यापारी, बिचौलिया तथा मूल्य बढाउन सहयोग गर्ने जतिलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्छ । होइन भने सर्वसाधारण तथा विद्यार्थीहरू काठमाडौंमा बाच्न निकै कठिन हुनेछ ।
फेरि उपभोक्ताका नाममा वकालत गर्दै हिँडेका समूहको कुरा पनि कहिलेकाहीँ सुनिन्छ । तर, यस्तो मूल्य वृद्धि हुँदा ती उपभोक्तावादी कहाँ लुकेका छन् । अब सबै तात्ने बेला आएको छ । सबैले भाषण मात्रै ठूला गरेर हुँदैन । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यलाई सहज बनाएर सर्वसाधारणलाई बाँच्न सक्ने वातावरण बनाइनुपर्छ । नत्र फेरि अर्काे आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । व्यापारी, सरकार तथा सम्बन्धित अन्य सबै निकाय बेलैमा सचेत हुनु जरुरी छ ।