सामाज सुधारमा जनप्रतिनिधि

सामाज सुधारमा जनप्रतिनिधि

‘दिउँसै मापसे चेकिङ, प्रहरीद्वारा घरेलु मदिरा नष्ट’ जस्ता समाचार धेरै पटक सुनिन्छ । समाजमा अमनचयन कायम गर्न मदिरा नियन्त्रणमा प्रहरीले पहल गरेकै हुन्छन् । संखुवासभाको सिलिचोक गाउँपालिका जनप्रतिनिधि एवं कर्मचारीले मादक पदार्थ सेवनविरुद्ध नयाँ अभियान सुरु गरेका छन् । अब त्यस भेगमा कसैले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरे १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । मदिरा सेवनले स्वास्थ्य बिग्रनुको साथै घरपरिवारमा समेत बिग्रह हुन सक्ने भन्दै यस किसिमको निर्णय गरेको जनप्रतिनिधिको भनाइ छ । हाम्रो समाजका लागि यो आफैंमा राम्रो निर्णय हो । सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान गर्न नहुने भनेर कानुन बने पनि व्यवहारमा लागू भएको पाइँदैन ।

दुर्गम जिल्ला संखुवासभाका जनप्रतिनिधि एवं कर्मचारीले काइदाको निर्णय गरेर नेपाली समाजलाई नयाँ सन्देश दिएका छन् । यो समस्या केवल संखुवासभामा मात्रै सीमित छैन । दूरदराजका गाउँ, विभिन्न सदरमुकाम र राजधानीमै पनि मापसेको समस्या छँदै छ । कतिपय जनप्रतिनिधिले निर्वाचित भएलगत्तै ‘यो यो काम गर्छु’ भनेर सूची सार्वजनिक गरे तर आफैंले गर्छु भनेको काम गरेनन् । यस अर्थमा सिलिचोक गाउँपालिका प्रतिनिधि बधाईका पात्र भएका छन् । उनले सरप्राइज निर्णय गरे । उनी मात्रै हैन, अन्य केही जिल्लाका जनप्रतिनिधिले पनि थुपै्र जीवनोपयोगी निर्णय गरेका छन् । कतिपय निर्णय कार्यान्वयन पनि भएका छन् । तर साना सहर एवं गाउँमा भएका कतिपय राम्रा निर्णयले प्रचार पाउँदैनन् । बहुलवादी समाजको परिकल्पना गरे पनि पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा यो अवस्था आएको हो । सोही क्षेत्रका प्रतिनिधिले यति कठोर र लोकप्रिय निर्णय गरेका छन् । यदि कोही व्यक्ति दोहोरो कार्बाहीमा परेमा उसले जरिवानासहित २० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

धेरै राजनीतिक दलले चुनावी घोषणापत्रमा आर्थिक एजेन्डालाई मुख्य रूपमा उल्लेख गर्ने गरेका छन् । घोषणापत्रमा उल्लेख भएका मध्ये पनि कतिपय एजेन्डालाई चुनाव सकिए लगत्तै बिर्सेजस्तो गरेका छन् । यो अवस्थामा सिलिचोकका जनप्रतिनिधि र राजनीतिज्ञले केवल विकासका मात्रै हैन, सामाजिक मुद्दामा पनि काम गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । अहिलेको अवस्थामा स्थानीय जनप्रतिनिधि भनेको स्थानीय सरकार हो । नागरिकको आवश्यकता सम्बोधन गर्नेदेखि नागरिकलाई परेको समस्या समाधानमा पनि पहल तिनै प्रतिनिधिले गर्नुपर्छ । मापसे नियन्त्रणजस्तै अनावश्यक विवाद अन्त्य र अन्य गैरसामाजिक कार्य नियन्त्रणका लागि पनि पहल गर्ने हो भने वास्तवमै समाज सुधारको संकेत देखिने थियो । आशा गरौं, हाम्रा अन्य क्षेत्रका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रको महŒवपूर्ण समस्या के हो भन्दै त्यसको पहलका लागि काम गर्नेछन् । समाजमा अमनचयन कायम भएको आभास मिल्नेछ ।