सेयर अनलाइन कारोबार छिट्टै सुरु हुन्छ

सेयर अनलाइन कारोबार छिट्टै सुरु हुन्छ

 

२०४४ मा दुर्गम बैतडीबाट राजधानी प्रवेश गरेका चन्द्रसिंह साउदले लामो समय बिमा क्षेत्रमा खर्चेका छन् । सुरुमा उनले अध्यापन पेसा रोजे पनि समयले उनलाई फरक क्षेत्रमा पु¥यायो । सात वर्ष निजी विद्यालयमा पढाएका उनी नेपाल कर्मस क्याम्पसबाट स्नातकोत्तर पास गरी २०५१ मा नेपाल इन्स्योरेन्समा छैठौं तहमा प्रवेश गरेका थिए । बिमा क्षेत्रमै महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म बने । साउद चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्टका अध्यक्ष पनि हुन् । हालै उनी चारवर्षे कार्यकालका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उनी नेप्सेमा आएपछि गरिने मुख्य काम, पुँजी बजारलाई व्यवस्थित गर्न नेप्सेको भूमिका, अनलाइन सेयर कारोबार, गैरआवासीय नेपालीहरूको लगानी सेयर बजारमा भिœयाउनेलगायतका विविध विषयमा साउदसँग राजधानीका लागि कमला अर्यालले गरेको कुराकानीको सम्पादित अंश : 

चन्द्रसिंह साउद
प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज

बिमा क्षेत्रबाट पुँजी बजारमा आउनुभएको छ । फरक क्षेत्रमा आउँदा कस्तो अनुभव गर्नुभएको छ ?

मलाई फरक क्षेत्रमा आएको जस्तो लाग्दैन । बिमा क्षेत्र पनि पुँजी बजारअन्तर्गतकै हो । फरक यति मात्रै हो कि म बिमामा हुँदा त्यहाँ बिमाका विषय मात्र हुन्थे भने यहाँ बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, होटल, हाइड्रोलगायतका अन्य कम्पनी छन् । जहाँ दायरा फराकिलो भएको छ । म्यानेजमेन्टमा आइसकेपछि काम आफूले गर्नुभन्दा पनि काम गराउने हो । काम गराउने सन्दर्भमा बिमामा र यहाँ खासै फरक देख्दिनँ, उस्तै लाग्छ ।

 नेप्सेमा आइसकेपछि प्राथमिकतामा कस्ता काम परेका छन् ?

अहिले सबैभन्दा जल्दोबल्दो कामका रूपमा रहेको काम हो, सेयरको अनलाइन कारोबार । त्यसलाई छिटोभन्दा छिटो सुरु गर्ने काम हाम्रो प्राथमिकतामा परेको हो । यसलाई जतिसम्दो छिटो प्रयोगमा ल्याउन सके सबैभन्दा ठूलो काम हुन्थ्यो भन्ने मलाई लागेको छ । अनलाइन कारोबार सुरु हुन सक्यो भने लगानीकर्ताहरू पनि ढुक्क हुन्थे । दोस्रोमा हामीले प्राथमिकतामा राखेका काम नेप्सेमा सूचीकृत कम्पनीहरूको इन्डेक्स छुट्याउने काम हो । केही समयअघि मात्रै हामीले विकास बैंक समूहबाट लघुवित्त कम्पनीलाई छुट्याएका छौं । त्यसैगरी, नेप्सेको सूचीमा सूचीकृत कम्पनीहरूलाई अलगअलग सूची बनाउने काम तीव्र रूपमा अघि बढाएका छौं । त्यस्तै, सेयरको कारोबारसँग सम्बन्धित ऐननियमहरू पुराना र फरक खालका छन् । त्यसलाई परिमार्जन तथा संशोधन गर्दै लैजाने सोच बनाएको छु । हाम्रो कारोबार एक ढंगले भइरहेका छन् भने ऐननियमहरू फरक ढंगका पनि छन् । त्यसैले यस्ता फरक ढंगका तथा पुराना ऐनकानुनले सेयर कारोबारमा असर पर्ने, लगानीकर्ताहरूलाई पनि समस्या पार्ने भएकाले यसलाई परिमार्जन तथा संशोधन गर्नुपर्ने देखिएको छ । त्यसैले संशोधन गर्ने कामलाई पनि हामीले तीव्रतासाथ अघि बढाउने हामीले सोचिरहेका छौं । त्यसैगरी, अर्काे पुँजी बजारसँग सम्बन्धित सूचनाहरू पारदर्शीका साथ हामीले लगानीकर्तालाई उपलब्ध गराउने कोसिस गर्नेछौं । र नेप्सेमा जेजति कम्पनीहरू सूचीकृत भएका छन्, ती कम्पनी आन्तरिक सुशासन राम्रो बनाउन आग्रह गर्ने र त्यस्ता कम्पनीलाई समयमै साधारण सभा गर्न घचघचाउने जस्ता काम गर्न हामी पहल गर्छांै । त्यस्तै नेप्सेभित्रका कर्मचारीहरूलाई पनि उचित व्यवस्थापन गर्ने काम पनि अघि बढाउँछौं र पुँजी बजारसँग सम्बन्धित जनचेतनाहरू व्यापक रूपमा फैलाउने काम गर्छांै । यो नियमित प्रक्रिया पनि हो र यसलाई हामीले काठमाडौं उपत्यका मात्रै होइन, उपत्यकाबाहिर कम्तीमा पनि सात वटा संघीय राज्यमा हामीले जनचेतनाका कार्यक्रमहरू गर्ने योजना छ । त्यससँगसँगै पुँजी बजारको दायरा फराकिलो बनाउन हामीले यहाँ भएका जति पनि पब्लिक लिमिटेड कम्पनीहरू छन् । ती कम्पनीलाई नेप्सेमा सूचीकृत गराउने प्रयास रहन्छ । त्यसका लागि हामी नेपाल सरकार, नियमन निकाय, सम्बन्धित कम्पनीहरूसँग पनि छलफलमा जाने सोच बनाएका छौं । नागरिक लगानी कोषसँग हामीले दुई चरणमा गरिसकेका छौं । सञ्चय कोषमा कार्यकारी प्रमुखको पद खाली भएकाले पद पूर्ति भएपछि त्यहाँ पनि हामीले काम सुरु गर्र्छाैं । त्योसँगै अहिले मार्जिन लेन्डिङको निर्देशन आएको छ, धितोपत्र बोर्डबाट । त्यसलाई पनि कार्यविधि बनाएर तुरुन्त लागू गर्नेछौं । त्यसका लागि स्टक ब्रोकरका साथी र लगानीकर्ता सबैसँग छलफल गरेर अघि बढ्ने योजना बनाएका छौं । त्यसका साथै गैरआवासीय नेपालीको लगानीलाई पनि पुँजी बजारमा भिœयाउने भइरहेको छ । त्यो हाम्रो मात्रै अधिकारको कुरा होइन । राष्ट्र बैंक, नेपाल सरकार र सम्बन्धित नियमन निकायसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं । यसलाई जतिसक्दो चाँडो नेपाली पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी भिœयाउन पहल हुनेछ ।

 मार्जिन लेन्डिङ कहिलेबाट सुरु होला त ?

धितोपत्र बोर्डको आगामी बैठकले यस विषयमा निर्णय गरेपछि कार्यविधि टुंगो लाग्छ । त्यसपछि मात्रै सुरु हुन्छ । त्यसका लागि त्यति धेरै समय कुर्नुपर्दैन ।

 अनलाइन कारोबार सुरुवात गर्न किन ढिलो भएको हो ?

यस विषयमा पत्रपत्रिकामा मैले पनि पढेको थिए र अनलाइन कारोबार ढिला हुनुको कारण एक त ३÷४ महिना मात्रै ढिलो भएको देखिन्छ । ३÷४ महिना जति सीईओको पद पनि खाली थियो । यो प्रमुख कार्यकारी हुँदा पनि अनलाइन कारोबार २१ कात्तिकदेखि नै हुने मैले अझैसम्म कुनै डकुमेन्ट भेटेको छैन । पहिले जे भए पनि १४ महिनाभित्र चाँडोभन्दा चाँडो अनलाइन सेवा सुरु गर्ने हाम्रो पहल छ । त्यसका लागि हामीले तीव्र रूपमा काम सुरु गरेका छौं । यति बेलासम्म हामीले १० वटा एसआरएस गरेर पठाइसकेका छौं । अब जम्मा ६ वटा मात्रै बाँकी छन् । त्यो पनि हामीले छिट्टै पूरा गर्छाै ।

  सेयर बजारलाई कसरी देशव्यापी बनाउँदै हुनुहुन्छ ?

अहिलेको अवस्थामा आफ्नो कार्यक्षेत्र बनाएका स्थानमा सञ्चालन गर्न नपाउने गरी ब्रोकर कम्पनी थप्ने कि रिमोट वर्क स्टेसन विस्तार गर्ने अथवा ब्रोकरहरूको सब एजेन्ट बनाएर उनीहरूलाई सक्रिय बनाउने तथा बैंकहरूलाई सहभागी गराउने वा नगराउने भन्नेमा विषयमा ठूलो बहस हुन्छ । अहिले हरेक स्थानीय तहमा एक वाणिज्य बैंक अनिवार्य गरिएको छ । प्राथमिक बजारको पहुँच आस्बाले पु¥याउने निश्चित भएको छ । यही माध्यमबाट दोस्रो बजारलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि हामी छलफल गर्दै छौं ।

  त्यसो भए बैंकले ब्रोकर लाइसेन्स पाउँदैनन् त ?

बैंकहरूलाई सेयर ब्रोकरका रूपमा काम गर्न दिनका लागि हामीले त खाली सिफारिस मात्रै गर्ने हो । यसको आधिकारिक निकाय भनेको धितोपत्र बोर्ड हो । त्यसकारण हामीले भएका ब्रोकर कम्पनीलाई लिएर देशभरि पुँजी बजारलाई विस्तार गर्ने कि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने भन्ने कुरा नेप्सेले मात्रै गरेर हुँदैन । नेप्सेको पनि जिम्मेवारी त छ । सम्बन्धित निकाय र पक्षहरूसँग व्यापक रूपमा छलफल गरेपछि मात्रै निर्णयमा पुग्न सकिन्छ । अहिले हामीले केही भन्न सक्ने अवस्था छैन । बैंकलाई ब्रोकर लाइसेन्स दिने भन्ने कुरा राष्ट्र बैंकले के कस्तो क्राइट एरिया तोकेको छ, पहिले त्यहाँबाट पहल हुनुप¥यो । अनि मात्रै प्रक्रिया अघि बढ्छ । ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर कम्पनीलगायत लाइसेन्स माग्ने धेरै छन् । हामीले निर्णय गर्दा आम लगानीकर्तालाई केमा हित हुन्छ, त्यही गर्ने हो ।

सेयर बजार घटबढ भइरहने प्रक्रिया भएकाले आत्तिनुपर्दैन

 ६ वटा जति काम हाम्रो प्राथमिकतामा छन्
 एनआरएनएको लगानी भिœयाउने विषयमा छलफल भइरहेको छ
 नया“ स्टक एक्सचेन्ज ल्याउनुपर्ला जस्तो मलाई लाग्दैन
 सेयर बजारमा कालो धन भित्रिन त्यति सजिलो छैन
 बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने छलफलको विषय हो
 सेयर बजारका केही ऐनकानुन संशोधन गर्नुपर्नेछ ।
 सेयर कारोबारलाई देशव्यापी बनाउने काममा हामी लागिरहेका छौं

 उपत्यकाबाहिरका लगानीकर्ताले आफ्नै ठाउँबाट कहिले सेयर खरिदबिक्री गर्न पाउँछन् त ?

अहिले पनि सहरी एरियामा यहाँ रहेका ५० वटा ब्रोकर कम्पनीले झन्डै ४१ जिल्लामा वर्क स्टेसनहरू स्थापना गरेका छन् । कतिपय ठाउँमा नपुगेको पक्कै पनि छ । समयको माग र आर्थिक कारोबारको भोल्युम हेरर पक्कै पनि आगामी दिनमा विस्तार हुन्छन् । तर सेयर कारोबारलाई देशव्यापी बनाउने भन्दैमा आजैको भोलि सफल हुन सक्दैन । तर, मेरो कार्यकालमा मुलुकभरि सेयर खरिद बिक्री गर्न सक्ने अवस्था भने सिर्जना हुन्छ । लगानीकर्ताले निकट भविष्यमै आफ्नै गाउँघरमा बसेर ढुक्कसँग सेयर कारोबार गर्न सक्नेछन् । लगानीकर्ताहरू ढुक्क भए हुन्छ ।

   ठूला लगानीकर्ताले सेयर होल्ड गरेर साना लगानीकर्तालाई छायामा पारेको भन्ने पनि सुनिन्छ नि ?

मैले पनि बेलाबेलामा यस्ता समाचार सुन्दै आएको छु । पहिले पहिले त्यस्तो हुन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । ठूला लगानीकर्ताका कारण साना लगानीकर्तालाई असर प¥यो भन्ने होइन । चाहे साना लगानीकर्ता हुन्, चाहे ठूला लगानीकर्ता हुन्, हाम्रा लागि सबै बराबर हुन् । साना लगानीकर्ताले लगानी गर्दा पनि संस्थाको अवस्था हेरेर मात्रै लगानी गरेका हुन्छन् । सेयर किन्ने संस्थाको सबै कुरा हेरेर मात्रै लगानी गरेका हुन्छन् । ठूला माछाले साना माछा खाएजस्तो अवस्था अहिले छैन । किनभने बजारमा १२ वटा जति म्युचुअल फन्ड छन् । बजारलाई अस्वाभाविक रूपमा घट्न नदिन म्युचुअल फन्डले पनि मार्केट मेकरका रूपमा काम गर्नुपर्छ । म्युचुअल फन्डले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ ।

  नेप्से र धितोपत्र बोर्डमा आउने विवाद कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

पहिले पनि यी दुई निकायबीच त्यति नराम्रो सम्बन्ध भएजस्तो मलाई लाग्दैन । व्यक्तिगत कारणले भयो होला । पहिले सम्बन्ध कस्तो थियो भन्ने पनि मलाई त्यति जानकारी पनि छैन । सबैले के बुझ्न जरुरी छ भने धितोपत्र बोर्ड भनेको नेप्सेको नियामक निकाय हो । हामीले नेपाल सरकार र बोर्डको नीति निर्देशन नमानीकन कुनै पनि काम गर्ने सम्भावना नै छैन । त्यसैले हामीले सेवोनसँग सौहार्द वातावरणमा संस्थागत सम्बन्धलाई सुमधुर बनाउनेमा हामी पछि पर्नेछैनौं । सेवोन हाम्रो नियामक निकाय भएकाले नीति निर्देशनहरू मान्छौं । भविष्यमा नेप्से र सेवोनको सम्बन्ध दाजुभाइको जस्तै हुन्छ । यसमा कुनै शंका छैन । त्यसैले संस्थागत रूपमा यी दुई निकायको सम्बन्ध सुमधुर हुन्छ । सधैं हामी एकआपसमा मिलेरै काम गर्छाैं ।

  नेप्सेलाई निजीकरण गर्ने र नयाँ स्टक एक्सचेन्ज आउने भन्ने विषयलाई कसरी हेर्नुभएको छ ?

नेप्सेको प्राइभेटाइजेसनको टेक्निकल कुरा मैले बुझ्न पनि पाएको छैन । नेप्सेलाई प्राइभेटाइजेसन गर्ने कि नगर्ने भन्ने कुरा सरकारको हो । रह्यो कुरा, नयाँ स्टक एक्सचेन्जको । त्यो बजारको आवश्यकता हेरेर हुन्छ । जसमा नेपाल सरकार, अर्थ मन्त्रालय र धितोपत्र बोर्डले बजारलाई आवश्यक हो कि होइन भनेर नयाँ स्टक एक्सचेन्ज दिनुपर्छ भनेको खण्डमा आउन सक्छ ।
यसमा हाम्रो भन्नु केही छैन । नेपालमा पुँजी बजारको आकार बढ्यो भने आउन सक्ला । नेपालको पुँजी बजारमा दर्ता भएका कम्पनीको संख्या कति छ, त्यसको आकार कस्तो छ, नेप्सेले भोलि आवश्यक पर्ने सेवा सुविधा दिन सक्छ कि सक्दैन । यदि यी सबै कुरा पूरा हुन्छन् भने नयाँ स्टक एक्सचेन्जको आवश्यकता त्यति छ जस्तो मलाई लाग्दैन । तर, कारोबार बढ्दै गयो भने अर्काे कुरा कानुनी रूपमा पनि अलिकति अड्चन हुन्छ कि जस्तो कहाँनेर लागेको छ भने नेप्से भनेको फ्रन्ट लाइनको रेगुलेटर हो । रगुलेटर दुईदुई वटा हुँदा काम गर्न अकिकति अप्ठ्यारो हुने हो कि ? अर्काे कुरा यी निकाय सरकारी हुन् । प्राइभेट सेक्टरलाई दिँदा पुँजी बजारमा केही तलमाथि हुने हो कि ? अहिले एनआरएललाई भिœयाउने कुरा छ, अरू विदेशी लगानी पनि भिœयाउने कुरा छ । त्यसका लागि छुट्टै स्टक एक्सचेन्ज ल्याउने भए ठीकै हो । अहिले भारतमा पनि गैरआवासीय भारतीयलाई मात्र लगानी गराउन छुट्टै निकाय छ । नेपालमा पनि त्यस्तै गर्न सके राम्रो हुन्छ । जिम्मेवारी भनेको नेपाल स्टक एक्सचेन्जलाई कसरी बलियो बनाउने हो । म त्यसैमा केन्द्रित छु । अरू स्टक एक्सचेन्ज थपिए भने पनि प्रतिस्पर्धामा अघि बढ्न सकिने गरी काम गर्नु मेरो दायित्व हो ।

सेयर बजारमा कालो धन भित्रिएको छ भन्छन् नि ?

पहिले पहिले के भयो त्यो भन्न सक्दिनँ । तर, अब भने त्यस्तो गर्न गाह्रै हुन्छ । किनभने १० लाखमाथिको कारोबार चेकबाट हुन सुरु भएको छ । त्योभन्दा बढी लगानी गर्नुपरे धनको स्रोत खोजिन्छ । त्यसैले पनि अब दिनमा त्यस्ता क्रियाकलाप कमै होलान् भन्ने मलाई लागेको छ । हामीले कालो धन नियन्त्रणका लागि छुट्टै मेकानिज्म बनाउने काम नगरे पनि त्यस्तो शंका लागेमा सम्बन्धित निकायमा पठाउन सक्छौं ।

समयमा वित्तीय विवरण निष्कासन तथा साधारण सभा नगर्ने कति कम्पनी होलान् ?

अहिले हामीले कुनकुन कम्पनीले त्यस्तो गरिरहेका छन् भनेर सूक्ष्म निगरानी गरिरहेका छौं । समयमा वित्तीय विवरण निष्कासन तथा साधारण सभा नगर्ने कम्पनीलाई समयमा विवरण सार्वजनिक गर्न र साधारण सभा गर्न दबाब दिने काम नेप्सेले गर्छ । नेप्सेको चेतावनीलाई बेवास्ता गर्ने कम्पनीको सूचीकरण खारेज गर्ने प्रक्रियामा जान्छौं । लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि हामी यस्ता कम्पनीमाथि कडा निगरानी गर्छाैं ।

   अहिलेको सेयर बजारलाई कसरी हेर्नुभएको छ ?

सेयर बजारमा घटबढ हुनु स्वाभाविक हो । यो सधैं चलिरहने प्रक्रिया हो । यसलाई ठूलो कुरा मान्नुहुँदैन । अहिले बजार केही सुस्त देखिएको छ । अहिले बैंकहरूको ब्याजदर क्रमिक रूपमा घट्नु, फेस्टिभ मुड अब सकिँदै जानुलगायत कारणले पनि बजारमा उतारचढाव आउन सक्छ । तर, लगानीकर्ताहरू यतिमै आत्तिनुपर्ने अवस्था छैन । बजार घटबढ हुनु निरन्तर प्रक्रिया भएकाले डराउनुपर्ने अवस्था छैन ।