राष्ट्रवादीको अपमान

राष्ट्रवादीको अपमान

जनआन्दोलन २०६२÷६३ मा सिंहदरबारभित्र बसेर  नेपाली जनताको छातीमा गोली हान्न आदेश दिनेदेखि लिएर सम्पत्ति शुद्धीकरणले छानबिन गरिरहेका व्यक्ति, अपहरण अभियोग लागेकालगायतलाई गणतन्त्र पक्षधर दलहरू नै प्रदेश  र प्रतिनिधिसभा निर्वाचन मैदानमा बुइमा बोकेर प्रचारमा छन् । दुःखका साथ भन्नुपर्छ, ती दलहरूले पटकपटक प्रधानमन्त्री बनेका राष्ट्रवादी नेता कीर्तिनिधि विष्टको अन्तिम संस्कारमा सम्मान दिन जरुरी ठानेनन् । जीवनको उत्तरार्धमा शाही ‘कु’ लाई मलजल गर्नमा उनको उल्लेख्य भूमिका अवश्य थियो । तर राजनीतिक जीवनमा मुलुकका लागि उनले दिएका अनेकन
योगदान त्यही एउटा अभियोगका कारण इतिहासबाट मेट्न सकिन्न । मेट्न नसकिने इतिहास बनाएका व्यक्तित्व विष्टको निधनमा राज्य जुन ढंगले बेखबर बन्यो, यो अत्यन्त दुःखद पक्ष हो ।

पूर्वप्रधानमन्त्री विष्ट निष्ठाका प्रतिमूर्ति थिए । पञ्चायतकालमा शिक्षामन्त्री हुँदै प्रधानमन्त्रीसमेत भएका विष्ट सधैं परराष्ट्र नीति पञ्चशीलको आधारमा हुनुपर्ने मान्यता राख्थे । भलै उनको सम्बन्ध दरबारसँग निकट थियो, सोही  कारण राजनीतिक दलहरूले सधैं कर्के आँखाले हेरे । हो, उनी दरबारनिकट थिए । राजा महेन्द्रकै निर्देशनअनुसार काम गरे । राजा महेन्द्रको शासनकालमा मुलुक पछाडि  धकेलिएकै हो । यसको अर्थ यो होइन कि स्व. विष्ट पनि महेन्द्र जस्तै थिए । सिंहदरबार आगलागी हुँदा नैतिकताको आधारमा  राजीनामा दिने विष्ट एक मात्रै नैतिकवान् प्रधानमन्त्रीका रूपमा चिनिन्छन् । त्यसपछि आजसम्म कुनै पनि मन्त्री एवं प्रधानमन्त्रीले नैतिकता देखाएर पद छाडेको इतिहास छैन । सकेसम्म सत्ताबाट बाहिरिनै नचाहने सत्तालिप्सा  बोकेकाहरूको भीडमा उनको नैतिकता छायामा  पारियो । मृत्युपछि पनि पञ्चायतको हिमायती भनेर  दुत्कार्ने परम्परालाई निरन्तरता दिइयो ।

भारतले ६ महिनासम्म अघोषित नाकाबन्दी गर्दा नाकाबन्दी ग¥यो समेत भन्न नसक्ने दलका नेताहरू अहिले पनि छाती फुकाएर हिँडिरहेका छन् । ती दलका नेताहरूलाई स्व. विष्टले २०२७ सालमा भारतीय सेनालाई तिब्बत बोर्डरबाट  भारत फर्काए भन्दा विश्वास नलाग्न सक्छ । तर, इतिहास कहिल्यै मेटिँदैन । सन् १९६५ मा भएको नेपाल भारतको  असमान सन्धिको पुनरावलोकन गर्न माग गर्ने मात्रै होइन  तीन वर्षअघि भारत र चीनले व्यापारिक लिपुलेकलाई व्यापारिक मार्ग बनाउने निर्णय गरेपछि चीनको आलोचनासहित कलम चलाउने विष्ट नै हुन् । यसको अर्थ उनी कहिल्यै व्यक्तिगत स्वार्थका लागि कुनै मुलुकप्रति लचिलो भएनन् । राष्ट्रियताको संवर्धनमा लागिरहे । नेता विष्टलाई सम्मान गर्न जुन कन्जुस्याइँ गरियो यसले मुलुकका लागि केही न केही योगदान दिनेका लागि हतोत्साहित पार्छ । उनले मृत्युअघि परिवारसँग मृत्युको विज्ञापन नगर्न अनुरोध अवश्य गरे । यसको मतलब यो  होइन कि उनलाई सम्मान गर्नु पर्दैनथ्यो । कम्तीमा उनलाई आर्यघाटमा राजकीय सम्मान दिन नसके÷चुके पनि उनले जीवनकालमा गरेका राम्रा कामबारे राज्यका तर्फबाट प्रशंसासम्म हुनुपर्छ । उनको मृत्युबाट मुलुकले एउटा राष्ट्रवादी नेता गुमाएको छ । यसलाई स्वीकार गरी आगामी दिनमा विष्टलाई जस्तो मृत्युपर्यन्त पनि अपमान गर्ने संस्कारबाट माथि उठ्न सक्नुपर्छ । विष्टप्रति हार्दिक श्रद्धाञ्जली †