साझा प्रतिबद्धता पूर्वाधार विकास

बागलुङ / रास– आगामी १० मंसिरमा हुन गइरहेको पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका बागलुङका उम्मेदवारले पूर्वाधार निर्माण, जलस्रोत र पर्यटन विकासलाई मुख्य तथा साझा प्रतिबद्धता  जनाएका छन् ।

एमाले–माओवादीको वाम र कांग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनको राजनीतिक मुद्दामा भिन्नता भए पनि जिल्लाको प्राथमिकताका आधारमा विषय समानता रहेको छ । दुवै गठबन्धनका उम्मेदवारले सडक, खानेपानी, विद्युत्, सञ्चार सेवाको विस्तार, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयलाई निर्वाचनका मुद्दा बनाएका हुन् ।

एमाले माओवादीको वाम गठबन्धन राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि  निर्वाचनको तालमेल र पार्टी एकता भएको सन्देशसहित जिल्लास्तरमा साझा प्रतिबद्धतापत्र तयार पारेर मतदातासामु पुगेको छ । लोकतान्त्रिक गठबन्धनले भने जिल्लास्तरमा प्रतिबद्धतापत्र तयार पार्ने काम भइरहेको

जनाएको छ । गठबन्धनले प्रत्येक गाउँ र नगरपालिकाको केन्द्रदेखि सबै वडामा सडक सञ्जाल जोड्ने,  ग्रामीण सहरलाई प्रविधिमैत्री बनाउने, बागलुङ बजार, सालबोट, भकुन्डे, रायडाडा, बरेङ, शान्तिपुर गुल्मी सडकलाई प्रादेशिक सडक अन्तर्गत समावेश गरी निर्माण तथा स्तरोन्ति गर्ने, बागलुङ बजार, कुँडेले, त्रिपतिचोक, मालिका, तितौरे, भीमापोखरा, धम्जा, तग्राम विहुँ, रेस सिगाना, तित्याङ, भकुन्डे, रायडाडा, अमलाचौर पैयुपाटा नारायणस्थान हुँदै बागलुङ बजारसम्म चक्रपथ निर्माण, बलेवा विमानस्थल सञ्चालन, पञ्चकोट, भकुन्डे, घुम्टेको धुरीलगायत स्थानमा केबलकार सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका क्षेत्र नं. १ का उम्मेदवार डा. सूर्य पाठकले विकास निर्माण, पर्यटन र जनस्रोतको अधिकतम प्रयोग गरी जिल्लामा रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधानको प्रयोगलाई प्रथामिकता दिनुका साथै प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहले गर्ने प्रतिबद्धता जनाएका छन् ।

बागलुङ–१ का नेपाली कांग्रेसका उम्मेदवार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले  कच्ची सडकलाई सुधार गरी यातायात सेवालाई व्यवस्थित बनाउन प्राथमिकता दिने बताइन् । यसैगरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण र जलविद्युत् आयोजना निर्माणका लागि लगानी भिœयाउने वातावरण बनाउनेमा जोड दिँदै उनले पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।