१९औं सडक महोत्सव

 

 

काठमाडौं / रास– रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा फेवाताल किनारमा १९औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । आगामी १३ देखि १७ पुससम्म शहीद चोकदेखि डिहिको पाटनसम्म करिब ३ किमि सडकमा महोत्सव आयोजक रेवानले आइतबार पत्रकार सम्मेलन गरी महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

‘सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ पाँच दिनसम्म चल्ने महोत्सव अन्यभन्दा फरक खालको मानिन्छ । नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव अंग्रेजी नयाँ वर्षका लागि आन्तरिक एवं बाह्य पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । साथै सडकमै कुर्सी, टेबल ल्याएर विभिन्न खानाका परिकारको स्वादसँगै रमाउने यो महोत्सव सधैं एकै मिति र स्थानमा आयोजना हुँदै आएको छ ।

रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक चौबहादुर गुरुङका अनुसार महोत्सवमा कोमागाने पार्कमा करिब सय स्टल रहनेछन् । महोत्सवमा लोकदोहोरी, लाइभ कन्सर्टलगायत हुनेछन् । महोत्सवमा सडकबाटै रेस्टुरेन्टको सेवा दिने व्यवस्था पनि मिलाइएको आयोजक संस्थाले जनाएको छ । रेवानका केन्द्रीय उपाध्यक्षसमेत रहेका रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सवमा नयाँपन दिन खोजेको र सांस्कृतिक कार्यक्रमलाई मुख्य जोड दिने बताए । रेस्टुरेन्टमा कार्यरत मजदुर, पर्यटकलगायतका लागि पनि विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता गरिनेछ ।

महोत्सवमा लोकदोहोरी गीत, बाल उद्यान, फुड फेस्टिबल, पन्चेबाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी दौड, वेटर रेसलगायत हुने रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

पोखरा र यस आसपासका कला, संस्कृति, वेशभूषालगायत संरक्षण तथा जगेर्ना गर्दै खानाको गुणस्तर वृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने र पोखरालाई गन्तव्य स्थानको रूपमा विकास गर्ने उद्देश्य पनि महोत्सवको रहेको छ ।

उक्त सिजनमा चिसो मौसम हुने र टे«किङ, ¥याफ्टिङ, माउन्टेनियरिङलगायत पर्यटकीय गतिविधि नहुने र पर्यटकका लागि अफ सिजन हुँदा सडक महोत्सव पोखरा पर्यटक भिœयाउने गतिलो माध्यम बन्दै आएको छ ।