हिमाली क्षेत्रमा टेलिकमको सेवा

काठमाडौं / रास– नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्लाका अति दुर्गम  १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानमा केही साताअघि देखि सेवा सञ्चालनमा ल्याउन सुरु गरेको थियो । तीमध्ये हुम्लाको चङखेली गाउँपालिकामा २६ कात्तिकदेखि  सेवा सञ्चालनमा ल्याएपछि दसवटै स्थानमा सेवा उपलब्ध भएको  टेलिकमले जनाएको छ ।

यसैगरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरूमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्लाको कङकासुन्दरी गाउँपालिका, कालिकोटको महावै गाउँपालिका र हुम्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् ।

उल्लिखित गाउँपालिकाअन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादी चौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । ती स्थानहरू अति दुर्गम भएकाले यथाशीघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरू ढुवानी

गरेको थियो । नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउन एनटी स्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउनेछन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने टेलिकमले जनाएको छ ।