खेलकुदकर्मीको चुनावी एजेन्डा खेल, खेलाडी र मैदान

रामसूदन तिमल्सिना / काठमाडौं

२१ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–८ मा सम्पूर्ण खेलकुदकर्मीको चासो छ । किनकि, सो क्षेत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ उम्मेदवार छन् ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागिताका लागि ओलम्पिक कमिटीको भूमिका रहने भएकाले पनि देशभरिका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीका लागि उक्त क्षेत्र चासोको विषय बनेको हो । वाम गठबन्धनका तर्फबाट उम्मेवार बनेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ दोस्रोपटक कांग्रेसका नेता तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । नेतृत्व तहमा खेलकुद बुझ्ने व्यक्ति नभएकाले खेलकुद क्षेत्रमा सधैं विवाद भइरहेका कारण पनि श्रेष्ठको उम्मेदवारी महŒवपूर्ण रहेको बताउँछन्, नेपाल जुडो संघका महासचिव धर्म श्रेष्ठ ।लामो समयदेखि खेलकुदमा सक्रिय श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्मा दुईपटक सदस्य सचिव भए । त्यसैगरी नेपाल ओलम्पिक कमिटीमा महासचिव हुँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७० को संविधानसभा निर्वाचनमा श्रेष्ठलाई जोशीले हराएका थिए । यतिबेला चुनावी माहोल अलि भिन्न भएको श्रेष्ठ बताउँछन् । वाम गठबन्धनका कारण केही समस्या पर्ने जोशीको आँकलन छ ।


काठमाडौंका हनुमानढोका, स्वयम्भू, जीवित कुमारी देवी, शोभा भगवती, विजेश्वरी, भीमसेनस्थान, काष्ठमण्डपजस्ता पुराताŒिवक र सांस्कृतिक सम्पदाको विकास निर्माण दुवै उम्मेदवारका एजेन्डा बनेका छन् । श्रेष्ठले भने जनजीवनका लागि खेलकुद विकासको महŒव थपेका छन् । ‘खेलकुद नीति निर्माणमा विशेष पहल गर्छु,’ उनले भने, ‘खेलकुद क्षेत्रको विकासलाई नेपाल आकर्षण केन्द्र बनाउने र खेलाडीको जीवन गौरवसाथ सुनिश्चित गराउने उद्देश्य छ ।’
त्यसैगरी, केही महिनाअघि मात्र खेलकुदसँग जोडिन आइपुगेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी (राजन) काठमाडौं–१० बाटै कांगे्रसबाट उम्मेदवार हुन् । एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २०७० को संविधानसभा निर्वाचनमा हराएर राष्ट्रिय चर्चामा आएका केसी खेलकुदमा भने जम्न सकेका छैनन् । उनी यसपटक वाम गठबन्धनकातर्फबाट माओवादीका हितमान शाक्यविरुद्ध प्रतिस्पर्धामा छन् । स्थानीय राजनीतिमा आफ्नो सक्रियताका कारण जित सुनिश्चित हुने उनको भनाइ छ । खेलकुदमा छोटो समय रहे पनि उनले चुनावी एजेन्डामा खेलकुदलाई जोड्ने कोसिस भने
गरेका छन् ।
त्यसैगरी जाजरकोटबाट नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह कांग्रेसबाट उम्मेदवार छन् । उनी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्वगृहमन्त्री शक्ति बस्नेतविरुद्ध भिड्दै छन् । अघिल्लो निर्वाचनमा समेत विजयी भएका कारण उनी आफ्नो जित सुनिश्चित रहेको बताउँछन् । एथलेटिक्समा देखाएका सपना पूरा गर्न नसके पनि जाजरकोटमा आफूले धेरै गरेको दाबी उनको छ । जाजरकोटमा आधारभूत आवश्यकता पूरा गर्नुपर्ने भएकाले खेलकुदलाई भने चुनावी एजेन्डाको प्राथमिकतामा राख्न नसकिने उनको बुझाइ छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने खेलकर्मी यिनै हुन् । प्रदेशसभामा खेलकर्मीको उम्मेदवारी राम्रो छ । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले कांग्रेसबाट बाँके–२ (ख) बाट प्रदेशसभाका लागि चुनावी मैदानमा छन् । कांगेसबाट टिकट पाएसँगै उनले परिषद्बाट राजीनामा दिइसकेका छन् । ओलम्पियनसमेत रहेका भारोत्तोलनका पूर्वअन्तर्राष्ट्रिय खेलाडी हमालको खेलजीवनसँगसँगै राजनीतिक जीवन अघि बढेकाले उनी आफ्नो जित खेलकुदकर्मीलाई समर्पण गर्ने अठोटसमेत गरिसकेको बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष कराँतेका मीनकृष्ण महर्जन ललितपुर–१ को प्रदेश ‘ख’मा कांग्रेसबाट उम्मेदवार हुन् । कराँतेका राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै अन्तर्राष्ट्रिय रेफ्रीसमेत भएका महर्जन तरुण राजनीतिमा सक्रिय रहेकाले खेलकुदमा झैं राजनीतिमा पनि पक्का खेलाडी भएको दाबी गर्छन् । दक्षिण ललितपुरका जनताको पिरमर्का बुझेको बताउँदै गोदाबरीमा मिनी रंगशाला बनाउने योजना रहेको बताउँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर प्रदेशसभा उम्मेदवार छन् । काठमाडौं–९ ‘क’का कांग्रेस उम्मेदवार तुलाधरले राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीबाट राजीनामा दिए पनि एन्फाको प्रमुख कार्यकारी अधिकृत पद छोडेका छैनन् । उनको जिम्मेवारीमा रहेको एन्फाले ‘ए’ डिभिजन लिगको मिति तोक्दैसार्दै गरिरहेको समयमा उनले चुनावी एजेन्डा धुवाँधुलो समस्या समाधानलाई बनाएका छन् ।
खेलकुदमा चासो नहुँदानहुँदै कुनै समय नेपाल क्रिकेट संघ (क्यान) सम्हालेका क्यान पूर्वअध्यक्ष टंक आङबुहाङ ताप्लेजुङ–२ ‘ख’का वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदावार हुन् । उनकै कार्यकालपछि क्यानमा विवादित बन्दै प्रतिबन्धित अवस्थामा पुगेको छ । त्यही असफल खेलकुद अनुभवका कारण उनले एजेन्डामा खेलकुद जोडेका छैनन् ।
नेपाली क्रिकेटका पूर्वखेलाडी फैजुलर खाँ कपिलवस्तु–१ प्रदेशसभा ‘ख’का उम्मेदवार हुन् । सन् २०१२ को आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलेका खाँ चर्चामा छन् । खेल अनुशासनबुझेका खाँ वाम गठबन्धनबाट उम्मेदवार छन् । आफ्नो विजयले खेलाडीको सम्मान हुने उनी बताउँछन् । नेपाल भलिबल संघका पूर्वकोषाध्यक्ष बुद्धि कटुवाललाई कांग्रेसले सुनसरी–३ ‘ख’बाट उम्मेदवार बनाएको छ । त्यसैगरी, कांग्रेसले एन्फाका पूर्वमहासचिव कुमारजंग थापालाई सुनसरी–३ ‘क’को उम्मेदवार बनाएको छ । एन्फा केन्द्रीय सदस्य महमद समिउल्लाहलाई वाम गठबन्धनबाट एमालेले बारा–३ ‘ख’को उम्मेदवार बनाएको छ ।
नेपाली खेलकुदमा केशव स्थापितको नाम छुट्दैन । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव स्थापित काठमाडौंका पूर्वमेयर पनि हुन् । उनी एमालेबाट काठमाडौं–६ ‘क’बाट प्रदेशसभामा प्रतिस्पर्धी हुन् । सनुसरी–१ ‘क’का कांग्रेसका उम्मेदवार हुन् एन्फा उपाध्यक्ष किशोर राई । राखेप पूर्वसदस्यसमेत रहेका राई खेलकुदलाई चुनावी एजेन्डामा राख्न भुल्दैनन् । कास्की–१ ‘क’का लागि वाम गठबन्धनका उम्मेदार हुन्, माओवादी केन्द्रका दीपक कोइराला । क्यानका कार्यवाहक अध्यक्षसमेत भएका कोइरालाले खेलकुदलाई भन्दा आर्थिक समृद्धिलाई जोड दिएका छन् ।