कांग्रेस तयारी उम्मेदवार घरदैलोमा, शीर्ष नेता ठूला सभामा

महेश्वर गौतम / काठमाडौं

नेपाली कांग्रेसले आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उमेदवारहरूलाई मतदाताको घरदैलोमा केन्द्रित गर्दै शीर्ष नेतृत्वलाई ठूला चुनावी सभामा सहभागी गराउँने तयारी गरेको छ ।

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पार्टीका ठूला नेताहरू ठूला आमसभा तथा चुनावी सभाहरूमा सहभागी हुने र उम्मेदवारहरू मतदाताको घरदैलो तथा कोणसभाहरूमा केन्द्रित हुने बताए । ‘ठूला नेताहरू ठूला आमसभा तथा चुनावी सभाहरूमा सहभागी हुनुहुन्छ, उम्मेदवारहरू मतदाताको घरदैलोमा मत माग्न जानुहुन्छ,’ नेता खाँडले राजधानीसँग भने ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आज (मंगलबार) नेपालगन्ज जाँदै छन् । नेपालगन्ज रहँदा प्रधानमन्त्री देउवाले बाँके तथा बर्दियाका नेता तथा कार्यकर्तालाई भेट्नेछन् भने त्यहाँ हुने सभालाई सम्बोधन गर्नेछन् ।

२९ मंसिरमा कैलालीको धनगढीमा हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् । ३० गते देउवा गृह जिल्ला डडेल्धुरा पुग्नेछन् । उम्मेदवारी दर्ता वारेसनामामार्फत दर्ता गराएका देउवा त्यसयता पहिलोपटक गृह जिल्ला जान लागेका हुन् ।

यसैगरी १ मंसिरमा प्रधानमन्त्री देउवाले बैतडी र दार्चुलाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् भने २ मंसिरका दिन उनले बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री देउवा ३ मंसिरमा काठमाडौं फर्किनेछन् । यस्तै वरिष्ठ नेता पौडेल केही दिनदेखि नै गृह जिल्ला तनहुँमा छन् । सोमबार तनहुँका विभिन्न स्थानमा भएका सभाहरूलाई सम्बोधन गर्दै पौडेल मतदाताको घरदैलोमा छन् ।

पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार २ मंसिरमा पौडेल लमजुङमा हुने चुनावी सभालाई सम्बोधन गर्न जानेछन् भने त्यसपछि गोरखा र कास्कीका चुनावी सभामा सहभागी हुन पौडेल त्यसतर्फ लाग्नेछन् ।

 

तनहुँको व्यास नगरपालिका–१२ मा मत माग्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ।                     तस्बिर :  राजधानी

महामन्त्री डा. शशांक कोइराला आइतबार गोरखाका विभिन्न स्थानमा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका छन् । यस्तै उनी केही दिन आफ्नै गृह जिल्ला नवलपुरमा रहने उनको सचिवालयले जनाएको छ ।

नेता विमलेन्द्र निधि, कृष्ण सिटौला, रमेश लेखक, विजकुमार गच्छदार, शेखर कोइरालालगायतका नेताहरू भने आफ्नै जिल्लामा हुने चुनावी सभा तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्रीसहित केही शीर्ष नेताहरू चुनावी सभामा सहभागी हुन जाने जानकारी दिए । तर सोबारे भने टुंगो लाग्न बाँकी रहेको उनले बताए । उनले पार्टीका केन्द्रीय सदस्यहरूसमेत आ–आफ्ना जिल्ला तथा छिमेकी जिल्लाहरूमा रहेर निर्वाचनका गतिविधिमा सहभागी हुने जानकारी दिए । कांग्रेसले आइतबार मात्रै पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा जिल्ला कमान्डर खटाएको छ ।

कांग्रेसले पहिलो चरणमा १० मंसिरमा निर्वाचन हुने ३२ जिल्लाका ३७ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टीसँग गठबन्धन गरेको छ । त्यस्तै ३७ निर्वाचन क्षेत्रमा ७४ प्रदेशसभामध्ये ६६ मा उम्मेदवारी दिई बाँकी प्रदेशमा राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिसँग गठबन्धन गरेको छ । दोस्रो चरणमा २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले ४५ जिल्लाका १ सय २८ मध्ये १ सय १८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बाँकी १० निर्वाचन क्षेत्रमा अन्य दलसँग गठबन्धन गरेको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै १ सय २८ निर्वाचन क्षेत्रका २ सय ५६ मध्ये २ सय ५४ प्रदेशसभामा कांग्रेसले उम्मेदवारी दिएको छ ।