राष्ट्रपति भण्डारी यूएई प्रस्थान

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्किएकी छन् । राष्ट्रपति भण्डारी २६ सदस्यीय टोलीको नेतृत्व गर्दै चारदिने भ्रमणका लागि सोमबार अपराह्न यूएईको अबुधाबीका लागि प्रस्थान गरेकी हुन् ।

उनको भ्रमणलाई सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । देश निर्वाचनमा होमिएका बेला राष्ट्रपति भण्डारी विदेश भ्रमणमा निस्किएकी हुन् । सम्भवतः राष्ट्रप्रमुखको हैसियतले यो नै उनको अन्तिम विदेश भ्रमण हुनेछ ।

सात दिनअगाडि मात्र राष्ट्रपति भण्डारीलाई यूएई भ्रमणको निम्तो आएको थियो । नेपालका लागि यूएईका राजदूत सइद हमदान अल नाकईले गत मंगलबार शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीलाई यूएईको अबुधाबीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर सेख महम्मद बिन जाहेद अल नेह्यानले पठाएको यूएई भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्दै उपराष्ट्रपति नन्दकिशोर पुन ।

यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ पार्ने जनाइएको छ । राष्ट्रपति भण्डारीको भ्रमण तालिका मन्त्रालयले दुई दिनअगाडि सार्वजनिक गरेको थियो । राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकार माधव शर्माले भने राष्ट्रपतिलाई औपचारिक भ्रमणको निम्तो आएका कारण जान लागेको बताए ।

नेपाल तथा यूएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्ष पुगेको सुखद अवसरमा यस भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनको भनाइ छ ।

अबुधाबी भ्रमणका क्रममा मंगलबार राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय सम्बन्ध व्यापार तथा नेपाली श्रमिकको मुद्दामा छलफल हुने बताइएको छ । मंगलबार नै दुई देशका सरकारी अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ ।

राष्ट्रपति भण्डारी दुबई, इमिरेटको भ्रमणमा पनि जाने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईमा २ लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । यूएई पछिल्लो समय नेपाली कामदारका लागि उत्कृष्ट गन्तव्यको बनेको छ । नेपाल र यूएईबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपतिको २६ सदस्यीय भ्रमण टोलीमा छोरी निशाकुसुम भण्डारी, सवारीमन्त्रीका रूपमा आपूर्तिमन्त्री जयन्त चन्द, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मदनकुमार भट्टराई, सुरक्षा सल्लाहकार नेत्रबहादुर थापालगायत २६ जना छन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरेका थिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनेछिन् ।