क्रिकेटले दिएको सन्देश

क्रिकेटले दिएको सन्देश

 

देशको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित रहेको सन्दर्भमा नेपाली युवा क्रिकेटरले मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा पावर हाउसका रूपमा रहेको भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्दै नयाँ तरंग पैदा गरिदिएका छन् । क्रिकेटको उमेर समूहका खेलमा नेपालले भारतविरुद्ध पहिलोपटक जित निकाल्दै सनसनी मच्चाएको हो । नेपाली युवा क्रिकेट खेलाडीले टेस्ट मान्यता प्राप्त राष्ट्रलाई यसअघि पनि पराजित गर्दै आफूलाई जायन्ट किलरका रूपमा परिचित गराइसकेको छ । नेपालले टेस्ट राष्ट्रहरू पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध पनि यसअघि जित निकाल्दै सनसनी मच्चाएको थियो ।
यसले नेपालमा क्रिकेटका प्रतिभावान् खेलाडीको कमी छैन भन्ने देखाएको छ । तर, खेलाडीका लागि आवश्यक सीमित स्रोतसाधनको समेत अभावमा यतिबेला नेपाली खेलकुद अस्तव्यस्त छ । अझ नेपाल क्रिकेट संघ त यतिबेला प्रतिबन्धित अवस्थामा छ । राजनीतिक किचलोका कारण संघ विवादित हुँदै अन्ततः प्रतिबन्धित अवस्थामा पुगेको हो । खेल र खेलाडीभन्दा पनि सीमित स्वार्थका लागि खेलकुद संघमा हावी हुने गरेका कारण नेपालमा प्रतिभावान् खेलाडी हुँदाहुँदै पनि उनीहरूले आफूलाई तिखार्ने अवसर पाइरहेका छैनन् । उमेर समूहको क्रिकेट, फुटबललगायतमा नेपालले खेलकुद महारथि मानिएका राष्ट्रलाई परास्त गरेको थु्रपै उदाहरण छन् । तर, नेपालले सिनियर टिमसम्म आइपुग्दा त्यो स्तरलाई कायम गर्न नसक्नुका पछाडि खेलकुदभित्रको अस्थिरता, राजनीतिक स्वार्थ, भौतिक पूर्वाधारको कमी र नियमित घरेलु प्रतियोगिता नहुनु नै हो ।

ठूला राजनीतिक दलले अन्तर्राष्ट्रियस्तरका क्रिकेट र फुटबलका खेलमैदान निर्माण गर्ने विषयलाई प्रत्येक निर्वाचनको समयमा घोषणापत्रमा राखेको पाइन्छ तर वास्तवमा भने भएको खेलकुदका भौतिक पूर्वाधारसमेत पुनर्निर्माण हुन नसकेर दयनीय अवस्थामा छन् । वर्षाैंअघि निर्माण सुरु गरिएको मूलपानी क्रिकेट मैदान अहिलेसम्म सम्पन्न हुन नसक्नु हाम्रा लागि विडम्बना नै हो । नेपालका लागि अभ्यास गर्नेदेखि प्रतियोगितासमेत गर्न कीर्तिपुरको टीयू मैदानमा भर पर्नुपर्छ । नेपाली खेलाडीले नियमित रूपमा अभ्यास गर्न पाएका छैनन् । नियमित रूपमा घरेलु प्रतियोगिता हुँदैन त्यसैले उमेर समूहका खेलाडी सिनियर लेभलमा पुग्दा कमजोर भइसक्छन् । वैदेशिक प्रशिक्षण, सन्तुलित भोजन, नियमित अुनगमन, प्रशिक्षणले खेलाडीको स्तरमा धेरै फरक पार्छ । एउटा बलियो टिम निर्माण गर्न अदृश्य रूपमा धेरै प्राविधिको भूमिका रहन्छ । यस विषयमा नेपालले सोच्न सकेकै छैन ।

नेपालमा सन् १९२० देखि क्रिकेट खेल्न सुरु गरिएको हो । सन् १९४६ मा त नेपाल क्रिकेट संघको स्थापना भएको थियो । यति लामो इतिहास बोकेको क्रिकेट खेलमा अझै भौतिक पूर्वाधार, क्रिकेटका लागि सीमित स्रोतसाधन र घरेलु प्रतियोगिताको अभाव देखिनु विडम्बना नै मान्नुपर्छ । तथापि नेपालले क्रिकेटमा उपलब्धि हासिल गर्दै आएको छ । सबैलाई एउटै सूत्रमा बाँध्न सक्ने क्षेत्र भनेको खेलकुद नै हो । तर, नेपालमा बजेट निर्माणदेखि दलहरूको चासोमा नपर्ने क्षेत्र पनि खेलकुद नै हो । क्रिकेटमा पटकपटक नेपालले उत्कृष्ट नतिजा दिलाएको छ । पावर हाउसलाई परास्त गरिदिएको छ । युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्लगायत नीति निर्माण तहमा रहेकाले मनन गर्नुपर्ने बेला आएको छ । हामीले भारत, अमेरिकाजस्ता शक्तिशाली राष्ट्रलाई पराजित गर्ने भनेकै खेलकुदमा हो । त्यसैगरी देशको अखण्डतालाई जोगाउन सबै नेपालीलाई एउटै सूत्रमा बाँध्न सक्ने क्षेत्र पनि खेलकुद हो । सबैलाई एउटै इस्यूमा एकैपटक खुसी दिन सक्ने पनि खेलकुद नै हो । फेरि हामी खेलकुद क्षेत्रको विकासका लागि किन संवेदनशील नहुने ? भारतविरुद्धको ऐतिहासिक जितले दलहरूलाई निर्वाचनको मुखमा महŒवपूर्ण सन्देश दिएको छ । यो महŒवपूर्ण सन्देशलाई संवेदनशील भएर सोचौं ।