जिससमा राजपाको नेतृत्व पक्का

राजधानी संवाददाता / सिमरा (बारा)

जिल्ला समन्वय समिति बारामा राष्ट्रिय जनता पार्टीले नेतृत्व सम्हाल्ने निश्चितजस्तै भएको छ । गत शनिबार जिल्लाको कलैयामा मनोनयन दर्ता गर्न पुगेका राजपाका नवलकिशोर सिंहले अन्य दलबाट मनोनयन नपरेपछि नेतृत्व पक्का भएको दाबी गरेका छन् ।

जिल्ला समन्वय समितिका पदाधिकारी चयनमा जिल्लाका १६ स्थानीय तहबाट निर्वाचित ३२ जना मतदानमा सहभागी हुने प्रावधान छ । उपमहानगर र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मात्र मतदान गरी जिल्ला समन्वय समितिको नेतृत्व चयन गर्नेछन् ।

जिससको सभापति पदमा राजपाका नवलकिशोर सिंहको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा एमालेकी तुलसा मैनाली र फोरम लोकतान्त्रिकका पवन ब्याउतले उम्मेदवारी दर्ता गरेका छन् ।

केन्द्रमा फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएको छ । नौ सदस्यीय रहने जिससका सदस्य पदका लागि फोरम लोकतान्त्रिक र एमालेले उम्मेदवारी दर्ता गरेका छन् ।

जिससको निर्वाचनमा मताधिकार भएका नौ जनप्रतिनिधि कांग्रेसको भए पनि नेपाली कांग्रेस मनोनयन प्रक्रियामा सहभागी भएन । कांग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसियाले पार्टीको आन्तरिक कारणले उम्मेदवारी दर्ता गराउन नसकिएको स्वीकार गरेका छन् । तयारी भए पनि अन्तिम अवस्थामा समझदारी नहुँदा जिल्ला समन्वय समितिको नेतृत्व तह कांग्रेसको हातबाट फुत्किएको उनले स्वीकार गरे । तर, कांग्रेसले उम्मेदवारी नदिए पनि निर्वाचनमा सहभागी हुने बताए ।

एमालेसँग सहकार्य गरी मनोनयन दर्ता गराउने तयारी भए पनि विभिन्न समस्याका कारण कांग्रेसबाट मनोनयन नपरेपछि कसलाई सघाउने भन्नेमा सोमबार साँझसम्म टुंगो लाग्ने चौरसियाले बताए । उपसभापतिमा मनोनयन दर्ता गराएको एमालेले भने सहमतिअनुसार कांग्रेसले एमालेलाई सघाउनेमा आशावादी रहेको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताए । १६ स्थानीय तहका ३२ जननिर्वाचित मतदातामध्ये ९ कांग्रेस, ८ राजपा, ८ फोरम, ५ एमाले र २ फोरम लोकतान्त्रिकका छन् ।