सिरहा–३ को प्रतिस्पर्धा रोचक

जागेश्वर यादव / लहान

आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–३ को प्रतिस्पर्धा रोचक हुने भएको छ । २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा–५ बाट नेकपा माओवादी केन्द्र तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिस्पर्धी नेकपा एमालेका लीलानाथ श्रेष्ठ बनेपछि देशव्यापी चर्चा भएको थियो ।

आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि श्रेष्ठ माओवादी केन्द्रसहित बनेको वाम गठबन्धनको साझा उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि गोलबजार नगरपालिकाको १२, सिरहा नगरपालिकाको २२, नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाकाको ७ वडासहित ४१ वडा समेटेर कायम गरिएको क्षेत्र नं. ३ मा चार स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा १३ जना उम्मेदवार भए पनि वाम गठबन्धनका श्रेष्ठ, नेपाली कांग्रेसका अमर रेग्मी र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन स्थानीयले गरेका छन् ।

वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो स्थानीय तहमा पाएको मतसँगै जिल्लाको पार्टी नेतृत्व तत्कालीन जिल्ला विकास समितिको उपसभापति र पार्टीको केन्द्रीय सदस्यको हैसियतले स्थानीय जनताका लागि गरेको काम नै आफ्नो जितको मुख्य आधार भएको बताउँछन् ।

त्यस्तै लोकतान्त्रिक आन्दोलनका उपलब्धिको संस्थागत विकास र सुदृढीकरणका लागि जिल्ला पार्टीमा रहेर आफूले निर्वाह गरेको भूमिकाका कारण यसपल्ट मतदाताले आफूलाई जिताउने दाबी गर्छन्, कांग्रेसका उम्मेदवार रेग्मी ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश गर्दै केन्द्रीय सदस्यका रूपमा रहेका यादवले क्षेत्र नं. ३ मा संगठनात्मक आधार र मधेसका लागि पार्टीले खेलेको भूमिकाकै कारणले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।

क्षेत्र नम्बर ३ का तीन प्रतिस्पर्धी

२०३६ को विद्यार्थी आन्दोलनदेखि नै राजनीतिक यात्राको थालनी गरेका वाम गठबन्धनका ६० वर्षीय श्रेष्ठ ५० को दशकदेखि विभिन्न भूमिकामा पार्टीको जिल्ला नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् । सिरहाको गोलबजार नगरपालिका–७ का श्रेष्ठ २०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएपछि राजनीतिक रूपमा लगातार अघि बढे ।

जिल्लामा एमालेको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्ष समेत भएका श्रेष्ठको चर्चा २०७० को संविधानसभाको निर्वाचनमा चुलिएको थियो । त्यसअघि जिविस उपसभापति भएलगत्तै जिल्लाको पूर्वाधार विकासका लागि पाँच वर्षे योजना निर्माण र कार्यान्वयन, कमला नदीमा आएको बाढीले बर्सेनि जिल्ला सदरमुकाम सिरहासहित वरिपरिका तत्कालीन ८ गाविसले भोग्दै आएको डुबान समस्याको अन्त्य, क्षेत्र नं. ३ मा आफ्नो पहलमा भएका विकास निर्माणको कामलाई स्थानीय जनताले सम्झिरहेको श्रेष्ठले बताए ।

२०६४ को आम निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नं. ६ बाट कांग्रेस उम्मेदवार बनेका अमर रेग्मी पराजित भए । त्यसयता पार्टीको महासमिति सदस्य रहेका रेग्मी लोकतन्त्रप्रतिको निष्ठा र लोकतान्त्रिक आन्दोलनमा आफूले खेलेको भूमिकाका कारणले जनताले जिताउने विश्वास व्यक्त गर्छन् ।

जनकपुरस्थित रामस्वरूप रामसागर क्याम्पसमा नेविसंघबाट राजनीति सुरु गरेका अशेश्वर २०५३ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा सभापति पदमा लडेका थिए ।

संविधान जारी भएसगै सुरु भएको मधेस आन्दोलनको क्रममा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका अशेश्वर यादव त्यसयता केन्द्रीय सदस्य छन् । यादवले भने, ‘राजनीतिक निरन्तरता र पार्टीको संगठनात्मक कारणले निर्वाचन जित्नेमा ढुक्क छु ।’

स्थानीय तह चुनावको मतमा वाम गठबन्धन अगाडि प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ मा रहेको गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाका ४१ वडामा माओवादी केन्द्र १२ कांग्रेस ११ एमाले र फोरमले ९ र ९ वडा जितेका छन् ।

क्षेत्र नं. ३ अन्तर्गत पर्ने ४१ वटै वडामा पछिल्लो स्थानीय तहको निर्वाचनमा एमाले १६ हजार ३ सय ४५, फोरम १४ हजार १ सय २८, कांग्रेस १२ हजार ८ सय ९४, माओवादी केन्द्र १० हजार ७ सय ७० र राजपाले १ हजार ७ सय ७८ मत ल्याएको छ ।