‘बाढीपछिको पुनःस्थापना आवश्यकता आँकलन’ सार्वजनिक

काठमाडौं / रास– प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुनर्निर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनःस्थापना आवश्यकता आँकलन’ प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सबैको सहयोग लिएर तराईमा बाढीबाट भएको क्षतिको छिटोछरितो ढंगले पुनर्निर्माण गर्ने बताए । उनले  तत्काल बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि काम अघि बढाइने बताए ।

प्रतिवेदनअनुसार बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख नेपाली रुपैयाँबराबरको क्षति पुगेको छ । बाढीले पु¥याएको क्षतिको पुनःस्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख नेपाली रुपैयाँ आवश्यक हुने देखिएको छ । प्रतिवेदनमा ‘सामाजिक क्षेत्रतर्फ आवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपक्षी र सिँचाइ तथा पूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामा भएको क्षतिको मूल्यांकन गरिएको छ । बाढीका कारण निजी आवासमा सबैभन्दा बढी १९ अर्ब ५० करोड रुपैयाँबराबरको क्षति पुगेको छ ।

त्यस्तै सिँचाइमा १७ अर्ब ५० करोड, पशुपक्षीमा १० अर्ब ७ करोड, कृषिमा ७ अर्ब २ करोड, यातायातमा २ अर्ब ९ करोड र शिक्षामा १ अर्ब २ करोड रुपैयाँको क्षति मूल्यांकन गरिएको छ । प्रतिवेदनमा पुनर्निर्माणका लागि सुझावसमेत समेटिएको छ । पुनर्निर्माणका लागि तीन वर्षको अवधिमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गर्न सुझाव दिइएको छ ।

बाढीपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत एक विशेष एकाइ गठन गरी त्यसको प्रमुखमा डा. सुमनकुमार कर्णलाई सरकारले नियुक्त गरिसकेको छ । यही वर्षको २७ देखि ३० साउनसम्ममा नेपालमा लगातारको भीषण वर्षापछिको व्यापक बाढीले ३५ जिल्ला प्रभावित बनाएको थियो । बाढीबाट १८ जिल्लामा ९० पुरुष र ४४ महिला गरी १ सय ३४ को ज्यान गएको थियो । ८ लाख ६६ हजार ९ सय ९३ पुरुष र ८ लाख २१ हजार ४ सय ८० महिला गरी १७ लाख जनसंख्या प्रभावित भएका थिए ।