दक्षिण एसियाली आर्थिक सम्मेलन आजदेखि

काठमाडौं / रास– १०औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन मंगलबारदेखि काठमाडौंमा हुने भएको छ । राष्ट्रिय योजना अयोग, वाणिज्य मन्त्रालय र सावटीको संयुक्त आयोजनामा १०औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन हुने भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले वाणिज्य मन्त्रालय लगायत राष्ट्रिय योजना आयोग र साउटीको संयुक्त आयोजनामा मंगलबारदेखि काठमाडौंमा सम्मेलन हुने जानकारी दिए । सम्मेलनको मुख्य विषय दक्षिण एसियामा समावेशी तथा दिगो विकासका निम्ति आर्थिक एकीकरण बलियो बनाउने रहेको छ ।

सम्मेलनमा सार्क राष्ट्रका वाणिज्य मन्त्रीहरू, योजनाविद्हरू र आर्थिक क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरूसहितका उच्च पदस्थ अधिकारीको उपस्थिति रहने उनले बताए । त्यस्तै युरोपियन युनियन र सार्कका पर्यवेक्षक मुलुकहरूबाट समेत प्रतिनिधित्व रहनेछ । सम्मेलनमा अन्तरदेशीय व्यापार सम्भाव्यताको खोजी, दक्षिण एसियामा दिगो विकास लक्ष्यहरू एवं समावेशीको विकासलगायतका एजेन्डामा छलफल गरिनेछ । सम्मेलन आगामी बिहीबारसम्म चल्ने जनाइएको छ ।