सेवा शुल्कमा एकरूपता ल्याउन माग

चितवन / रास– क्षेत्रीय होटल संघ चितवनले पर्यटकीय क्षेत्रका होटलले लिने सेवा शुल्कमा गुनासो बढेपछि मूल्यमा एकरूपता ल्याउन माग गरेको छ । संघका अध्यक्ष सुमन घिमिरेका अनुसार अनलाइनमा सार्वजनिक गराइने ‘सेवा शुल्क दर’ मा आएको गुनासोलाई कम गर्न एकरूपता ल्याउन पहल थालिएको हो ।

अनलाइनमा एउटा दर र लिइने दरमा ठूलो अन्तर भएकाले आएका पर्यटकले भनेअनुसारको सुविधा नपाउने गुनासो बढेको घिमिरेले बताए । क्षेत्रीय होटल संघको बैठकले निर्णय नै गरेर होटललाई व्यवस्थापनका लागि आग्रह गरेको छ ।

‘होटलले लिने शुल्कभन्दा झन्डै दोब्बर शुल्क ब्रोसर तथा अनलाइनमा राखिने गरेकाले पर्यटकबाट गुनासो आएको हो,’ अध्यक्ष घिमिरेले भने । पर्यटकीय होटलको सेवामा गुणस्तरीयता ल्याउन र पर्यटकको सहजताका लागि एजेन्टसँग लिने दरमा ५० प्रतिशत नबढाईकन ट्यारिफ कायम गर्न संघले सम्बद्ध होटललाई आग्रह गरेको छ । बढी शुल्क राखेर पछि सेवा त्यहीअनुसारको नपाउँदा पर्यटक रुष्ट हुने गरेका छन् ।

संघले नमुनाका रूपमा ट्यारिफ दर १५० डलर राखिएको भए पनि वास्तविक मूल्य १ सय डलर कायम गर्न भनेको छ । यसअघि २ सय डलर ट्यारिफ मूल्य राखेका होटलले १ सय डलर लिने गरेका थिए । सौराहामा दुई रात तीन दिनको प्याकेज होटलअनुसार न्यूनतम ७० डलरदेखि १ सय ५० डलरसम्म पर्छ । अन्य महँगा होटलमा २० हजार रुपैयाँसम्मको प्याकेज रहेको छ । सौराहामा मात्रै १ सय १० भन्दा बढी सुविधायुक्त होटलमा दैनिक २ हजार ८ सय पर्यटक बस्न सक्ने क्षमता छ ।