औद्योगिक कोरिडोरका उद्योगीलाई दैनिक १५ करोड नोक्सानी

राजधानी संवाददाता / मोरङ

भारतको बथनाहास्थित मीरगन्ज पुलबाट ठूला मालबाहक सवारीसाधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रका उद्योगीलाई दैनिक १५ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगन्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ । अहिले सुनसरी–मोरङ औद्यौगिक कोरिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

मीरगन्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किमिको दूरीमा पर्छ । तर, सुनसरीको भान्टाबारी नाकाबाट ८० किमि घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ । ‘भान्टाबारी र रानी भन्सारमा पनि जाँच गरिन्छ, उद्योगीलाई दोहोरो दुःख भएको छ,’ उनले भने ।

भान्टाबारी नाकाबाट सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने गरेको छ । यस क्षेत्रका उद्योगीलाई दैनिक १४ करोडदेखि १५ करोड रुपैयाँसम्म नोक्सानी भएको उपाध्यायले भने । कोलकाता बन्दरगाहमा सयौं कन्टेनर रोकिएको उनले बताए । उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम बेहोर्नुपथ्र्यो ।

उपाध्याय उत्पादन लागत ह्वात्तै बढेको बताउँछन् । हाल प्रतिकिलो दुईभन्दा बढी लागत बढेको छ । कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उनको गुनासो छ । पुल सञ्चालनका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, उद्योग संगठन मोरङलगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् ।